लोड हुँदैछ...

मेनु

पाँचथरमा बाढी–पहिरोको वितण्डा : ४ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा, पुल र जलविद्युत् आयोजनामा करोडौँको क्षति

पाँचथरमा बाढी–पहिरोको वितण्डा : ४ परिवार विस्थापित, दर्जनौँ घर जोखिममा, पुल र जलविद्युत् आयोजनामा करोडौँको क्षति

पाँचथर । अविरल वर्षासँगै आएको बाढी र पहिरोले पाँचथरको जनजीवन अस्तव्यस्त बनाएको छ । पहिरोले घर बगाउँदा याङवरक गाउँपालिका–१ का चार परिवार विस्थापित भएका छन् भने दर्जनौँ घरहरू उच्च जोखिममा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनिषकुमार कर्णका अनुसार पहिरोले घर बगाएपछि याङवरक–१ लम्बाखोलाका मोहनलाल खवास र कबिर खवास तथा कोप्चेका गङ्गाप्रसाद बेघाको परिवार विस्थापित भएका हुन् । मोहनलाल र कबिरको परिवारका ७ जना सदस्य आफन्त शान्ता खवासकोमा र गङ्गाप्रसादको ६ जनाको परिवार दाजु दुर्गा बेघाको घरमा शरण लिएर बसेका छन् । यस्तै, भगीमान बेघाको घर पहिरोको उच्च जोखिममा परेपछि उनको ६ जनाको परिवारलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।

बाढीपहिरोका कारण कोप्चेटोलका बालानन्द बेघा र मैतराज बेघा, चाम्लिङडाँडाका रबिन राई, रामकुमार राई, रणबहादुर राई, मनकुमारी गुरुङ र डम्बरबहादुर गुरुङको घर जोखिममा परेको छ । यस्तै, एकराते टोलका रत्नमान राई, लछुमान राई, राजेश राई, कमलबहादुर राई र शेरबहादुर राई तथा खोलाघारी मगरडाँडा टोलका याम मगर, पूर्णकुमार मगर र सुजन मगरको घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ ।

बाढीले भौतिक पूर्वाधारमा ठुलो क्षति पुर्‍याएको छ । पुष्पलाल ९मध्यपहाडी० राजमार्ग अन्तर्गत याङवरक–२ दोभानेस्थित मेवा खोलामा निर्माणाधीन ४१ फिट लामो सडक पुल बाढीले बगाएको छ । पुलसँगै सडक र डाइभर्सनसमेत बगाउँदा यो खण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, राजमार्गकै ओयाम बजार र रिजाल भिर खण्डमा पहिरो झरेका कारण सडक ठप्प छ ।

तमोर करिडोर अन्तर्गत पाँचथर र ताप्लेजुङको सीमा (हिलिहाङ र आठराई त्रिवेणी) स्थित तमोर नदीमा निर्माणाधीन ुलिम्बूनी पुलुका महत्त्वपूर्ण संरचनाहरू बाढीले बगाएको छ । निर्माण व्यवसायीका अनुसार ३ सय ५० टन स्टिल ट्रस्ट, अक्सिजन ग्यास सिलिन्डर, इलेक्ट्रिक गन र फलामे पाइपलगायतका निर्माण सामग्री बाढीले बगाएको डीएसपी कर्णले जानकारी दिए । यसबाहेक लामिटार–चाम्लिङडाँडा र दोभानेस्थित दुईवटा झोलुङ्गे पुलमा पनि क्षति पुगेको छ ।

बाढीले जलविद्युत् आयोजनाहरूलाई पनि निसानामा पारेको छ । याङवरक–२ को हरिहृदुलय मेवाखोला जलविद्युत् आयोजना, पाँचथर र ताप्लेजुङको सीमामा रहेका इवाखोला जलविद्युत् आयोजना (बाँधको पर्खाल) र अरुण काबेली जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

बाढी र पहिरोले टीकारामे, डल्लेढुङ्गा, सिगेवा र मेची पहाडी खानेपानी योजनाका साथै वाराङ सिँचाइ योजनामा पनि क्षति पुर्‍याएको छ । प्रभावित क्षेत्रमा उद्धार र क्षतिको थप विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds