विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मोरङ क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्की अर्को विवादमा तानिएका छन् ।
जेनजी आन्दोलनको समयमा संसद भवन जलाउने कामको अगुवाई गरेका उनी चुनाब जितेर सांसद भएपछि नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको विवादमा मुछिएका हुन् ।
घटना सार्वजनिक भएसँगै उनी संसद बैठकमै अनुपस्थित भएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्नका लागि नाम टिपाएका कार्कीलाई सभामुख डोलप्रसाद अर्यालले तीन पटकसम्म नाम लिएर बोलाएका थिए । तर, उनी संसद हलमा उपस्थित थिएनन् । त्यसपछि सभामुखले अर्को सांसदलाई बोल्न समय दिएका थिए ।
संसद सचिवालय स्रोतका अनुसार आकस्मिक समयमा बोल्न सांसदहरूले बैठक सुरु हुनुअघि नै नाम दर्ता गर्ने प्रचलन छ । कार्कीले पनि सोही प्रक्रिया अनुसार नाम टिपाएका थिए । तर, उनको काण्ड सार्वजनिक भइसकेपछि उनी संसदमा उपस्थित भएनन् ।
कार्कीले नाइजेरियाकी २६ वर्षीया युवतीलाई गर्भवती बनाएर सम्पर्कविहीन भएको दाबी गर्दै जनआस्था अनलाईनले समाचार सार्वजनिक गरेको छ । ती युवतीले कार्कीसँग ‘लिभिङ रिलेसन’ मा रहेको, गर्भवती भएपछि आफूलाई बेवास्ता गरिएको तथा अहिले आर्थिक र मानसिक समस्यामा परेको उल्लेख गरेकी छन् ।
समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा पनि कार्कीको विषय चर्चामा आएको छ । कार्की जेन–जी आन्दोलनका क्रममा संसद भवन र विभिन्न स्थानमा भएको आगजनी तथा तोडफोड घटनासँग जोडिएर विवादमा आएका थिए । सामाजिक सञ्जालमा सार्वजनिक तस्वीर र भिडियोमा उनी संसद भवन परिसरमा आगजनीमा संलग्न देखिएका थिए । उनले संसद भवनभित्र कुर्सी जलाएको स्वीकारसमेत गरेका थिए ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कार्की रास्वपाबाट मोरङ–२ मा विजयी भएका थिए । उनले ४० हजार ९२४ मत प्राप्त गर्दै नेकपा एमालेका दिलीपकुमार बगडिया र नेपाली कांग्रेसका डा.मिनेन्द्र रिजाललाई पराजित गरेका थिए ।
सुशासन र नयाँ राजनीतिक संस्कृतिको नारा दिँदै आएको रास्वपाका सांसदमाथि लगातार विवाद र आरोप लाग्न थालेपछि पार्टीभित्र र बाहिर दुवैतर्फ प्रश्न उठ्न थालेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।