लोड हुँदैछ...

मेनु

संसद भवनमा आगो लगाउने रास्वपा मोरङ २ का उम्मेद्वार कार्की भन्छन्, ‘फोटो र स्टाटस सहि छ’

संसद भवनमा आगो लगाउने रास्वपा मोरङ २ का उम्मेद्वार कार्की भन्छन्, ‘फोटो र स्टाटस सहि छ’

विराटनगर । गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा काठमाडौंको मुटुमा अवस्थित राज्यका सर्वोच्च संरचनाहरूमा भएको विध्वंशमा सहभागी भएका रास्वपा मोरङ क्षेत्र नम्बर २ का उम्मेद्वार कृष्णकुमार कार्कीले संसद भवनमा गरेको आगलागीमा आफ्नो संलग्नता रहेको स्वीकार गरेका छन् । आफूले फेसबुकमा राखेको कुरा सत्य भएको स्वीकार गर्दै उनले संसद भवनका कुर्सीहरु बाहिर ल्याएर आगो लगाएको बताए । तर, भवनमा आफूहरुले आगो नलगाएको उनको दाबी छ ।

जेनजी आन्दोलनमा संसद भवनमा आगो लगाउने कार्कीलाई रास्वपाले उम्मेदवार बनाएको विषय हाम्रोमतले सार्वजनिक गरेको थियो । भदौ २४ को विध्वंसपछि रास्वपा प्रवेश गरेका उनले त्यस अघि भने सभापति रवि लामिछाने र नेत्री इन्दिरा रानामगरलाई तथानाम गाली गरेका थिए ।

कार्कीले पार्टी सभापति रवि लामिछाने र उपसभामुख इन्दिरा रानामगरका विषयमा सामाजिक सञ्जालमा आएका आफ्ना अभिव्यक्तिहरूको पनि बचाउ गरे । फोन संवादका क्रममा उनले सत्यको पक्षमा बोल्दा कसैलाई नछोड्ने स्पष्ट पारेका हुन्।

आफ्नो फेसबुक स्टेटसका बारेमा स्पष्ट पार्दै कार्कीले भने, ‘मेरो आधिकारिक फेसबुक पेजबाट आएका कुराहरू मेरै हुन्। मेरो सिद्धान्त भनेको गल्ती गर्ने जो–कोहीलाई छोड्नु हुँदैन भन्ने हो।’

पार्टी सभापति रवि लामिछाने मुछिएको सहकारी प्रकरणका बारेमा उनले भने, ‘यदि उहाँ (रवि लामिछाने) ले गल्ती गर्नुभएको हो भने जनताले उहाँलाई बचाउ गर्नु हुँदैन। उहाँमाथि पनि कारबाही हुनुपर्छ। मेरो मान्छे हुँदैमा देवत्वकरण गर्ने मेरो स्वभाव छैन।’

आफ्नो व्यक्तिगत निष्ठाको चर्चा गर्दै कार्कीले नातावादभन्दा माथि उठेर सत्यको पक्षमा उभिने दाबी गरे। उनले भने, ‘सत्य र सही हुनुपर्छ। मेरो बुवाले गल्ती गर्नुभयो भने पनि म छोड्ने खालको मान्छे होइन। आफ्नै ठूलोबुवाविरुद्ध त स्कुलको विषयलाई लिएर मैले मुद्दा हालेको छु भने अरूको हकमा त झन् प्रश्नै उठ्दैन।’

उपसभामुख इन्दिरा रानामगरको विषयमा सोधिएको प्रश्नमा कार्कीले भने, ‘तस्करी र गलत काम गर्नेहरूलाई रुलिङ गर्ने ठाउँमा बसेकाहरूले सानो गल्ती गरे पनि त्यसको अर्थ हुन्छ। गल्ती गर्नेले सजाय पाउनै पर्छ।’

त्यस्तै, जेन्जी आन्दोलनका क्रममा भएका क्रियाकलापबारे स्पष्टीकरण दिँदै उनले भने, ‘हामीले कतै घरमा आगो लगाउने काम गरेका छैनौँ। बाटोमा कुर्सी बालेर विरोध जनाएका हौँ, जुन तस्बिरहरू सार्वजनिक भएका छन्।’ घरमा आगो नलगाएको दाबी गरेका उनले फेसबुकमै नेताहरुको घरमा गरेको आगलागीको जिम्मा लिने लेखेका थिए ।

कार्कीले सार्वजनिक पदमा बस्नेहरू उत्तरदायी हुनुपर्नेमा जोड दिँदै भने, ‘सार्वजनिक सम्पत्ति र निर्णयका विषयमा नागरिक, समाज र सरोकारवाला सबैसँग छलफल गरेर मात्र निर्णय गर्नुपर्छ। अहिलेको समयमा जनतालाई लुकाएर वा ढाँटेर केही चल्दैन।’

नयाँ र विकल्पको नारा दिएर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले कार्कीलाई मोरङ क्षेत्र नम्बर २ को उम्मेद्वार बनेका छन् । उनी गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको आडमा काठमाडौंको मुटुमा अवस्थित राज्यका सर्वोच्च संरचनाहरूमा भएको विध्वंशमा प्रत्यक्ष थिए ।

उनले फेसबुकमा सार्वजनिक गरेको तस्बिरमा स्पष्ट देखिन्छ कि उनी संसद् भवनभित्रका कुर्सीहरू बटुलेर आगोमा झोसिरहेका छन् । राज्यको नीति निर्माण गर्ने थलोमा उनले आगो लगाएर विनाश गरिरहेका थिए ।

उनले भदौ २५ गते लेखेका छन्, ‘हामी संसद् भवन प्रवेश ग¥यौँ, संसद् भवनको भित्र अगाडि हामीले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम र खुसियाली मनाइम ।’ आज तिनै व्यक्ति त्यही संसद् भवनको रोस्टममा उभिएर माननीय भनिन खोज्नु लोकतन्त्रको उपहास मात्र होइन, आम मतदाताको विवेकमाथिको ठाडो प्रहार पनि हो ।

कार्कीको अराजकता संसद् भवनमा मात्र सीमित थिएन । उनले आफ्नै स्टाटसमा स्वीकार गरेका छन् कि उनी बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी हुँदै सिंहदरबारको गेटमा लात्ती हान्ने टोलीको अघिल्लो पंक्तिमा थिए । उनले नेताहरूको घरमा गरिएको आगजनीको जिम्मा समेत लिँदै राज्यका अर्बौंका संरचनामा क्षति पु¥याएकोमा कुनै पश्चात्ताप प्रकट गरेका छैनन् ।

कृष्ण कार्कीको चरित्रको सबैभन्दा रोचक र विष्मयकारी पक्ष भनेको उनको चरम अवसरवाद हो । १२ वर्ष जापान बसेर फर्किएका कार्कीले वैशाख १८ (अप्रिल १, २०२५) मा रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै लेखेका थिए, ‘सोझा सीधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी म टुलुटुलु हेरेर कहाँ बस्छु भनेर भ्रम छर्छ । तर पनि जनता पत्याउँछन्, पछि लागेकै छन् ।’

यति मात्र होइन, भदौ ३१ (सेप्टेम्बर १६) मा उनले लामिछानेलाई अझ कडा प्रहार गर्दै लेखेका थिए, ‘रविजी आफूलाई पैसा लागेको छैन भन्नुहुन्छ तर आफू मालिक भएको कम्पनीमा रकम आएपछि दोषी हुन्छ भन्ने कुरा त जनावर बाहेक मान्छे सबैलाई थाहा हुन्छ ।’ उनले अगाडि चुनौती दिएका थिए, ‘कुनै दिन म जस्तो मान्छेलाई शक्तिमा पु¥याए भने तपाईंहरू (रवि लामिछाने) र सहकारी ठगहरू दुवै पक्ष एउटै जेलमा जानुपर्छ, यति चाहिँ हेक्का रहोस् ।’

तर, कार्कीले विगतमा जसलाई जनावर बाहेक सबैले ठग देख्ने भनेर गाली गरे, आज तिनै रविको आशीर्वाद लिएर चुनावी मैदानमा छन् । के हिजो उनले लेखेका कुरा झुट थिए ? वा आज उनले ओढेको रास्वपाको खोल झुट हो ? मोरङका जनताले सोध्नुपर्ने भएको छ । हिजो रवि लामिछानेलाई जेल हाल्छु भन्ने व्यक्ति आज तिनैको कार्यकर्ता बनेर कसरी भोट माग्न सक्छन् ? त्यति मात्रै होइन उनले तत्कालिन उपसभामुख इन्दिरा रानालाई काँग्रेस र एमालेले मानव तस्करको आरोप लगाएको बेलामा पनि आलोचना गर्दै स्टाटस लेखेका थिए । उनले सबै ठग र तस्कर भएको ठाउँमा मानव तस्कर पनि सँगै हुनुमा नौलो नभएको बताएका छन् ।

उनले फेसबुकमा लेखेका स्टाटसहरु के के थिए हेर्नुहोस् लिङ्क

https://www.facebook.com/story.php?story_fbid=2009295643235664&id=100024657421535&rdid=REjsz67DPQnGXoGY#

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।