विराटनगर । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा सरकारी दमनको प्रतिवादको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहित देशभरका राज्यका अरबौंका संरचनामा आगजनी, तोडफोड र लुटपाट मच्चाइयो ।
भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवा र सुशासनको माग गर्दै सुरु भएको जेन्जीको आन्दोलनमा घुसपैठ गरेर सरकारी सम्पत्तीमाथि ठूलो बिध्वंश मच्चाइएको थियो । त्यो बिध्वंशमा संलग्न रहेको आरोप खासगरी राष्ट्रिय स्वतन्त्र पार्टी र मुलतः बालेन शाह समूहमाथि लाग्दै आएको छ ।
जेनजी आन्दोलनमा युवालाई समर्थन गरेका काठमाडौं महानगरका पूर्व प्रमुख शाहले आगलागी नियन्त्रणको लागि दमकल नपठाएको आरोप लागिरेहेको छ । अर्कोतिर त्यहि आन्दोलनको आडमा रास्वपाका सभापति रवि लामिछाने विजयी भावमा नख्खु कारागारबाट बाहिरिएका थिए । आन्दोलनमा अन्य सबै राजीनितक दलका कार्यालय र नेताहरुको निजी निवास ध्वस्त पारिएकोमा रास्वपा सुरक्षित थियो ।
जेनजी आन्दोलनपछि प्रहरीले आन्दोलनको क्रममा अपराधिक विध्वंश र लुटपाट मच्चाउनेमाथि कार्वाही थालेको थियो । तर, आन्दोलनका अगुवा भनिनेहरुको दबाबमा त्यो कार्वाही रोकियो । अहिले ती कतिपय ‘अगुवा’ रास्वपाबाट फागुन २१ को प्रतिनिधिसभा उम्मेदवार बनेका छन् ।
आन्दोलनपछि बिध्वंशमा संलग्न रहेको आरोप लागेपछि रास्वपालले अपराध गर्नेहरुलाई कार्वाही गर्ने बताएको थियो । तर, अहिले उसले तिनीहरुको संरक्षण मात्र हैन, आगामी प्रतिनिधिसभाको उम्मेदवार नै बनाएको पाइएको छ । तीमध्येकै एक हुन्, रास्वपाबाट मोरङ क्षेत्र नं. २ मा उम्मेदवार बनेका कृष्णकुमार कार्की ।
मोरङको रतुवामाइ नगरपालिका–९ घर भएका कार्की बैदेशिक रोजगारीबाट भर्खरै नेपाल फर्किएका हुन् । निकटस्थहरुका अनुसार उनी जेनजी आन्दोलनको केहि दिन अगाडि मात्र नेपाल फर्किएका थिए । त्यसछि उनी काठमाडौंमा भदौ २४ को बिध्वंशमा संलग्न भएको देखिएको छ ।
भदौ २४ गते नयाँ वानेश्रस्थित संसद भवनभित्र तोडफोड र आगजनीमा संलग्न भएको तस्विर उनी आफैंले सामाजिक सञ्जाल फेसबुकमा राखेका छन् । तस्विरमा उनी संसद भवनको कुर्सी बोकेर आगोमा फालिरहेका देखिन्छन् । संसद भवनभित्रको आगललागीमा पनि उनको संलग्नता तस्बिरले देखाउँछ ।
कार्कीले आफैं तोडफोड र आगजनीमा संलग्न भएको स्वीकार गरेका छन् । तर, संसद भवनको कुर्सी मात्र आफूले जलाएको भन्दै उनले भवन भने घुसपैठियाले जलाएको जिकिर गरेका छन् । उनले राजनीतिका दलका नेतााहरुको घरमा गरिएको विध्वंश भनेमा आफ्नो संलग्नता रहेको लेखेका छन् । बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबार मार्ग, रानीपोखरी, सिंहदरबार हुँदै नेताहरुको घरमा पुगेर आगजनी गरेको उनले स्वीकार गरेका छन् ।
भदौ २५ गते उनले लेखेको स्टाटस उनकै भाषामा यस्तो छ, ‘बालाजु नया बजार बाट निस्केको जेन्जी भिड को अगिल्लो पन्क्ती मा मछु पानी पनि लियेर गयेको थिय पानी बाडे त्येस्पछी सबारी साधन राखेर म अगिल्लो पङ्त्तिमा सोर खुटे ठमेल हुँदै दरबार मार्ग रानी पोखरी सिंहदरबार हुँदै विभिन्न नेता को घर मा म पुगे सम्सद भबन बानेश्वरमा पुगे हामिले बाटोका हरेक चोक मा आगो बालिम तर कुनै सरकारी भबन मा आग्जनी गरिनम तर भ्रस्ट नेता हरु को घर आग्जनी भयो त्येस्को जिम्मा जेन्जी लिन चाहान्छ । …..हामी सम्सद भबन प्रबेश गरिम सम्सद भबन को भित्र अगाडि हामी ले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम र खुसियाली मनाइम तर सम्सद भबन मा आगो जेन्जी ले लगायेको होइन घुस पेट भयो नेता को घर मा मात्र हाम्रो तार्केट थियो तर कस्ले कस्ले आगो लाउदै हिड्यो ।’
सामाजिक सञ्जालमा आक्रोशपूर्ण स्टाटस लेख्ने कार्कीको लेखाइ शुद्ध भने छैन । उनले जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरिएकी शुशिला कार्कीलाई पनि ‘विदेशी दलाल’ भनेका छन् । सेप्टेम्बर ११ मा उनले लेखेको स्टाटसमा हर्क साम्पाङ र महाबीर पुन बाहेक अन्यलाई देश सुम्पन नसकिने भनेका छन् ।
त्यसको २ दिनपछि भने उनले कार्कीलाई दिदी सम्बोधन गर्दै शुभकामना दिएका छन् । केहि दिनपछि ‘अहिले को सरकार पनि भारत र पश्चिमाहरुको कठ्पुतली’ भएको उनले लेखेका छन् । उनी काठमाडौंमा जेनजी आन्दोलनका घाइतेसँग भेटघाटदेखि गृहमन्त्री ओमप्रकाश अर्यालसँग देखिन्छन् । तर, उनको रास्वपाको संलग्नता खुल्दैन ।
मोरङ क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट गत निर्वाचनमा ठगेन्द्र न्यौपाने उम्मेदवार थिए । यो निर्वाचनमा पनि उनैले टिकट पाउने चर्चा रास्वपा कार्यकर्ताबीच थियो । तर, कार्कीले एकाएक टिकट लिएर आएका छन् । अहिले उनी चुनाबी अभियानमा छन् । रास्वपाका एक कार्यकर्ताले मोरङमा पुरानालाई नदोहोर्याएको कारण ठगेन्द्रले टिकट नपाएको बताए । यद्यपि कार्कीले टिकट पाउनुको कारण आफूलाई थाहा नभएको बताउँदै बालेन शाहको कोटाबाट आएको हुनसक्ने बताए ।
कार्कीले जेनजी आन्दोलन अगाडि १२ वर्ष विदेश बसेर फर्किएको बताएका छन् । जापान बसेर फर्केका उनले जापानमै रहँदा रास्वपाका सभापति रवि लामिछोनलाई सहकारी ठग भन्दै प्रहार गरेका छन् । गत अप्रिल १ मा उनले लेखेका छन्, ‘सोझा सिधा जनतालाई भ्रम छरेर सहकारी ठगी गर्ने अमेरिकी म टुलुटुलु हेरेर कहाँ बस्छु भनेर भ्रम छर्च । तर पनि जनता पत्याउछन । पछि लागेकै छन् ।’
सेप्टेम्बर १६ मा उनले रवि लामिछानेको सहकारी ठगी सम्बन्धि संसदीय समितिको प्रतिवेदन सामाजिक सञ्जालमा राख्दै प्रहार गरेका छन् । रवि सहकारी ठग भएको जनावरबाहेक सबैले थाहा पाउन सक्ने उनले लेखेका छन् । अहिले जनतालाई झुक्उाउन सफल भएपनि आफू जस्ता व्यक्ति शक्तिमा पुगेमा रविले जेल जानुपर्ने उनले लेखेका छन् ।
‘….उता रवि जि आफू ले पैसा लागेको छैन भन्नुहुन्छ तर आफू मालिक भएको कम्पनी आफ्नो हस्ताक्षर भएको सबै प्रकिया मिलाएर कम्पनीमा अरूमार्फत नै भए पनि रकम आएपनि रविजिलाई थाहै नभय पनि मालिक भएको कारण र आफ्नो हस्ताक्षेर को कारण दोषी हुन्छ भन्ने कुरा त जनावर बाहेक मान्छे सबै लाई थाहा हुन्छ है । आज जनता अल्मलिएर तपाईहरुको यो नाटकलाई सही ठानेर चुप बसेपनि कुनै दिन जनताका आँखा खुले र म जस्तो मान्छे लाई शक्तिमा पुराए भने तपाईंहरू आजको यो निष्कर्ष निर्णय निकाल्ने र सहकारीमार्फत गरीब सोझा जनता ठगने दुवै पक्ष एउटै जेल मा जानु पर्छ, यति चाई हेक्का रहोस्’ उनले भनेका छन् ।
कार्कीले रास्वपा नेतृ समेत रहेकी उपसभामुख इन्दिरा राना मगरमाथि मानव तस्करको आरोप लाग्दा उनी माथि पनि प्रहार गरेका छन् । पुराना दलसँगै मिलेर रास्वपा पनि लुट्ने काममा सहभागी भएकोले यो सबैलाई तह लगाउनु पर्ने उनको स्टाटसमा उल्लेख छ ।

















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।