लोड हुँदैछ...

मेनु

अमृत झाबारे गलत सूचना दिएको एक महिनापछि परराष्ट्र मन्त्रालयले माग्यो माफी

अमृत झाबारे गलत सूचना दिएको एक महिनापछि परराष्ट्र मन्त्रालयले माग्यो माफी

काठमाडौं । इरानी हिरासतमा रहेका नेपाली नागरिक अमृत झाको रिहाइबारे गलत सूचना सार्वजनिक गरेको विषयमा परराष्ट्र मन्त्रालयले एक महिनापछि औपचारिक रूपमा माफी मागेको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै झा अझै पनि इरानको बन्दर अब्बासस्थित हिरासतमा रहेको र उनको मुद्दा स्थानीय अदालतमा विचाराधीन रहेको स्पष्ट पारेको छ।

यसअघि गत अप्रिल १५ मा परराष्ट्र मन्त्रालयले अमृत झा रिहा भइसकेको भन्दै विज्ञप्ति जारी गरेको थियो। परराष्ट्रमन्त्रीले समेत सामाजिक सञ्जालमार्फत उनको रिहाइ भएको जानकारी सार्वजनिक गरेका थिए। तर, पछिल्लो विवरणले उक्त सूचना गलत भएको पुष्टि भएपछि मन्त्रालयले सार्वजनिक रूपमा क्षमायाचना गरेको हो।

मन्त्रालयका अनुसार इरानका लागि नेपाली अवैतनिक वाणिज्यदूत शाहराम सान्तीयले कतारस्थित नेपाली कार्यवाहक राजदूत कुमार राईलाई झा रिहा भएको अनौपचारिक जानकारी दिएका थिए। सोही सूचनाका आधारमा तत्कालीन जनचासो, सञ्चारमाध्यमको सोधपुछ तथा परिवारको दबाबलाई ध्यानमा राख्दै मन्त्रालयले रिहाइसम्बन्धी सूचना सार्वजनिक गरेको जनाएको छ।

तर, त्यसपछि प्राप्त विवरणअनुसार अदालतले मुद्दामा विशेषज्ञ प्रतिवेदन तयार गर्न आदेश दिएको र झा अझै थुनामै रहेको तथ्य खुलेको मन्त्रालयले स्वीकार गरेको छ। हाल गठित विज्ञ टोलीले प्रतिवेदन अदालतमा बुझाउने अन्तिम तयारी गरिरहेको मन्त्रालयको भनाइ छ।

परराष्ट्र मन्त्रालयले अमेरिका, इजरायल र इरानबीच तनाव सुरु हुनुअघि नै जनवरीको सुरुमै झासहित अन्य विदेशी नागरिकलाई इरानी सुरक्षाकर्मीले क्युसिएम टापुबाट नियन्त्रणमा लिएको जनाएको छ।

मन्त्रालयले झाको निष्पक्ष सुनुवाइ र कानुनी प्रतिरक्षाका लागि कूटनीतिक पहल जारी रहेको उल्लेख गर्दै गलत सूचनाका कारण उत्पन्न अन्योल र परिवारमा परेको मानसिक असरप्रति दुःख व्यक्त गरेको छ। साथै, झाका परिवारलाई मन्त्रालयमा बोलाएर वास्तविक अवस्थाबारे जानकारी गराइसकिएको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।