खोटाङ । सुनकोसी नदीमा जडान गरिएको फोक्सिङटार र वंशिलाघाटको बेलिब्रिज एकैसाथ हटाइएपछि खोटाङ जिल्ला ‘प्राकृतिक नाकाबन्दी’को अवस्थामा पुगेको छ।
वर्षायाम सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अस्थायी रूपमा सञ्चालनमा रहेका बेलिब्रिज हटाइएको छ ।
बेलिब्रिज हटाएपछि आइतबारदेखि दक्षिणी खोटाङको तराई तथा प्रदेश राजधानीसँगको सिधा यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको छ। वंशिलाघाटमा रहेको बेलिब्रिज भौतिक पूर्वाधार कार्यालयले हटाएको हो। कार्यालय प्रमुख इन्जिनियर बिनम दाहालका अनुसार नदीमा पानीको बहाव बढेकाले बेलिब्रिज बग्ने जोखिम देखिएपछि संरचना हटाइएको हो।
त्यस्तै फोक्सिङटार स्थित बेलिब्रिज पनि हटाइएको छ । गाईघाट–दिक्तेल सडक आयोजनाले सञ्चालन गर्दै आएको उक्त बेलिब्रिज वर्षायामभर सञ्चालन नहुने जनाइएको छ।
दुवै बेलिब्रिज हटाइएपछि दिक्तेल रुपाकोट मझुवागढी, साकेला, दिप्रुङ चुईचुम्मा, खोटेहाङ, जन्तेढुंगा र बराहपोखरी गाउँपालिकाका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। विराटनगर, धरान र इटहरी पुग्ने छोटो मार्ग बन्द भएपछि स्थानीयलाई लामो तथा जोखिमपूर्ण वैकल्पिक सडक प्रयोग गर्नुपर्ने अवस्था आएको छ।
स्थायी पुल निर्माणमा सरकारले गम्भीरता नदेखाउँदा हरेक वर्ष खोटाङवासीले सास्ती भोग्नुपरेको छ । यातायात अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य सेवा, व्यापार तथा शिक्षामा समेत असर पर्ने स्थानीयको भनाइ छ। गम्भीर बिरामीलाई धरान वा विराटनगर पुर्याउन अब थप कठिन हुने भन्दै स्थानीय जनप्रतिनिधिले वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
स्थानीयवासी तथा राजनीतिक दलका नेताहरूले हरेक वर्ष बेलिब्रिज हाल्ने र झिक्ने अस्थायी समाधानको सट्टा दीर्घकालीन र सुरक्षित स्थायी पुल निर्माण गर्न सरकारसँग माग गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।