विराटनगर । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)को केन्द्रीय कार्यकारिणी सदस्य पदमा कोशी प्रदेशबाट आठ जना उद्यमीहरू निर्वाचित भएका छन्। निर्वाचनको अन्तिम मतपरिणाम अनुसार विभिन्न विधामा कोशी प्रदेशका उम्मेदवारहरूले सफलता हासिल गरेका हुन्।
कोशी प्रदेशबाट महासङ्घको केन्द्रीय नेतृत्वमा पुग्न सफल भएका उम्मेदवारहरूलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बधाई ज्ञापन गरेका छन् । अध्यक्ष राउतका अनुसार जिल्लानगर खुलातर्फबाट उदयपुरका प्रयास कार्की, पाँचथरका दीपक नेपाल र दमकका गोकुल श्रेष्ठ विजयी भएका छन् । यस्तै संस्थापक सदस्यतर्फ सुनसरीका गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
कोशी प्रदेश भूगोलतर्फ इटहरीका जीवन पराजुली र त्रियुगाका रमेश रसाइली विजयी भएका छन् । यसैगरी, एसोसिएट सदस्यतर्फ विराटनगरका सुयशराज प्याकुरेल र वस्तुगत संघतर्फ झापाका राजकुमार कार्की कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् ।
महासङ्घको केन्द्रीय कार्यसमितिमा कोशी प्रदेशको बलियो प्रतिनिधित्वले यस क्षेत्रका उद्योगी व्यवसायीका समस्याहरूलाई नीतिगत तहमा पुर्याउन थप बल पुग्ने विश्वास लिइएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।