लोड हुँदैछ...

मेनु

बैकिङ कसूर र ज्यान मार्ने उद्योगमा संलग्न तीन जना संखुवासभा प्रहरीको नियन्त्रणमा

बैकिङ कसूर र ज्यान मार्ने उद्योगमा संलग्न तीन जना संखुवासभा प्रहरीको नियन्त्रणमा

विराटनगर । जिल्ला प्रहरी कार्यालय संखुवासभाले बैकिङ कसूर र ज्यान मार्ने उद्योग जस्ता छुट्टाछुट्टै दुईवटा मुद्दामा संलग्न तीन जनालाई पक्राउ गरी कानुनी कारबाही अगाडि बढाएको छ।

बैकिङ कसूर मुद्दाका प्रतिवादी सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १ स्थायी घर भई हाल धरान उपमहानगरपालिका वडा नं. १७ बस्ने ३३ वर्षीय पंकज साहलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय धरानसँगको समन्वयमा वैशाख २१ गते धरानबाटै नियन्त्रणमा लिइएका साहलाई आइतबार संखुवासभा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि पाँच दिनको म्याद अनुमति लिइएको छ।

यसैगरी, संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ४ स्थित कोले चोकमा ढुंगा प्रहार गरी एक युवकलाई गम्भीर घाइते बनाएको अभियोगमा थप दुई जना पक्राउ परेका छन्। गत वैशाख १९ गते राति खाँदबारी–४ बस्ने २८ वर्षीय यासिप्पा राईलाई विपक्षीहरूले ढुंगा प्रहार गरी गम्भीर घाइते बनाएको घटनामा संलग्न दुई आरोपितलाई प्रहरीले खाँदबारी–१ बाट नियन्त्रणमा लिएको हो।

रबिन राईको जाहेरीका आधारमा पक्राउ परेका उनीहरूलाई पनि जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग कसूरमा विस्तृत अनुसन्धान भइरहेको सूचना अधिकारी प्रहरी निरीक्षक मेघराज अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds