लोड हुँदैछ...

मेनु

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति कोशी सरकार जिम्मेवार छ’–मन्त्री पराजुली

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति कोशी सरकार जिम्मेवार छ’–मन्त्री पराजुली

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले प्रेस तथा अभिव्यक्ति स्वतान्त्रताप्रति कोशी प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । संघीय सरकारले विज्ञापन रोक्ने गरी गरेको निर्णयले सञ्चार क्षेत्रमा ‘आर्थिक नाकाबन्दी’को अवस्था सिर्जना गरेको भन्ने पत्रकारहरुको गुनासोप्रति प्रदेश सरकार संवेदनशील रहेको पनि उनले बताए ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको आठौँ स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले प्रदेश सरकारले आफौंले बनाएको ऐन कार्यान्वयन गर्ने पहल गरिरहेको र पत्रकार महासंघ तथा सम्बद्ध संघ संगठनहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मन्त्री पराजुलीले प्रदेश सरकारले पारित गरेको सञ्चार ऐनलाई कार्यान्वयन गर्न चाँडै प्रतिष्ठान गठन गर्ने र त्यसैले नियमावली र कार्यविधि बनाएर काम गर्ने वातावरण तयार पर्ने आश्वासन समेत दिएका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमालले पछिल्लो समय नागरिक अधिकारका साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति केही चुनौती देखिएको भन्दै सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व महासचिव तथा सल्लाहकार विवेक गौतमले प्रदेश सरकारलाई संघीय सरकारले नियन्त्रणमा राख्न खोजेको भन्दै आलोचना गरे । “संघीय सरकारले एउटा शाखा अधिकृतस्तरको निर्णयबाट प्रदेश र स्थानीय सरकारलाई चिठी पठाएर विज्ञापन रोक्न जुन निर्देशन दिएको छ, त्यो संघीयताको भावना विपरीत छ,” गौतमले भने, “कोशी प्रदेश सरकार यहाँको सञ्चार माध्यमको संरक्षणका लागि लाग्नु पर्छ ।”

कार्यक्रममा पत्रकार महासंघ कोशीका अध्यक्ष भरत खड्काले प्रदेश सरकारले ल्याएको ऐन कार्यान्वयन नहुँदा पत्रकारको क्षमता विकास, सरकारी विज्ञापनको समानुपातिक वितरण र साना लगानीका सञ्चार माध्यमको सुरक्षा जोखिममा पर्ने बताए । उनले त्यसका लागि सरकारले अभिभावकीय भूमिका खेल्नुपर्नेमा जोड दिए ।

त्यस्तै, प्रेस चौतारी नेपाल कोशीका अध्यक्ष सुमन पुरीले संघीय सरकारले सञ्चार माध्यममाथि ‘आर्थिक नाकाबन्दी’ लगाएको आरोप लगाउँदै त्यसको प्रतिरोध प्रदेश सरकारले गर्नुपर्ने बताए । सरकारले प्रेसलाई प्रतिपक्षी मात्र नभई लोकतन्त्रको सहयात्रीका रूपमा हेर्नुपर्ने भन्दै पुरीले विज्ञापनमा लगाइएको अङ्कुशले स्थानीय सञ्चार गृहहरू धराशायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

नेपाल प्रेस युनियन कोशीका अध्यक्ष मिनकुमार नवोदितले पत्रकारहरुको क्षमतावृद्धि गर्ने र सञ्चार क्षेत्रको विकास तथा सम्बद्ध संघ संगठनहरु परिचालनका लागि सहयोग भूमिका खेल्नुपर्ने बताए ।

समाजवादी प्रेस संगठनका अध्यक्ष बन्धु पोखरेलले संघीय सरकारले गर्ने प्रेस विरोधी निर्णयहरु कार्यान्वयन गर्दै जाने र यहाँका मिडिया धराशायी बन्ने अवस्था सकारात्मक नभएको भन्दै प्रदेश सरकार जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

प्रेस चौतारी मोरङकी अध्यक्ष चिना थापाले पत्रकारितामा महिलाको पहुँच र सम्मानजनक सहभागिताको विषय उठाउँदै सरकारले प्रदान गर्ने पुरस्कार र अवसरहरूमा समावेशिताको ख्याल गर्न आग्रह गरिन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी महासचिव हिमा चेम्जोङ्गले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य र धन्यवाद ज्ञापन उपाध्यक्ष कुमोद अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।