दमक । झापाको दमक नगरपालिका–७ बसपार्क क्षेत्रमा मंगलबार बिहान भएको आगलागीमा तीनवटा पसलमा क्षति पुग्दा करिब १८ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।
प्रहरीका अनुसार दमक–८ का होमबहादुर खड्काले सञ्चालन गरेको ड्रागन होटल (चिया–नास्ता तथा फलफूल पसल) मा विद्युत् सर्ट भई आगलागी सुरु भएको थियो। आगलागीका कारण होटल पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
आगलागी फैलिँदै जाँदा सोही स्थानमा मोहमद नसिरले सञ्चालन गरेको जनता टायर सर्भिस पसल पनि पूर्ण रूपमा जलेर नष्ट भएको छ, जसबाट करिब २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
त्यसैगरी तेह्रथुम लालीगुराँस गाउँपालिका–४ घर भई हाल दमकमा बस्दै आएका मिलन तामाङले सञ्चालन गरेको दोर्जे किराना पसलको स्टोर रुममा आंशिक क्षति पुगेको छ। उक्त पसलमा करिब १ लाख रुपैयाँ बराबरको नोक्सानी भएको बताइएको छ।
आगलागी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षक विपन विश्वकर्माको कमाण्डमा १५ जना, सशस्त्र प्रहरी बल नं. ३८ रिजर्भ गण हेक्वा पाडाजुँगीबाट सशस्त्र प्रहरी निरीक्षक आवास प्रधानाङ्गको कमाण्डमा १५ जना सुरक्षाकर्मी खटिएका थिए। साथै दमक, कमल गाउँपालिका र उर्लाबारी नगरपालिकाका दमकल तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार आगलागी बिहान करिब ६:३० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।