पाँचथर । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले तमोर कोरिडोर सडक खण्डअन्तर्गत निर्माणाधीन पुलहरूको स्थलगत निरीक्षण गर्दै कामको ढिलाइप्रति असन्तुष्टि जनाएका छन्।
निरीक्षणका क्रममा सडक कालोपत्रे भइसके पनि पुल निर्माणको काम अत्यन्त सुस्त गतिमा अघि बढिरहेको पाइएको उनले बताए।
वर्षायाममा बाढीका कारण सवारी आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको उल्लेख गर्दै उनले निर्माण कम्पनीलाई काम तीव्र बनाउन निर्देशन दिएका छन्। ‘बजेटको लागि पहल गर्ने म छु, तर यहाँ काम छिटो सक्नुपर्यो,’ नेता आङ्देम्बेले भने।
पूर्वी पहाडलाई तराईसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा चिनिने तमोर कोरिडोरलाई ‘लाइफलाइन सडक’ मानिन्छ। तर, लखुवा, नावाखोला, रगुवा र छरुवालगायत खोलामा पुल निर्माण ढिलाइ हुँदा हरेक वर्ष वर्षायाममा यातायात प्रभावित हुने गरेको छ।
खोलामा पानी बढ्दा सवारी साधन बग्ने र डुब्ने जोखिमसमेत बढ्ने गरेको स्थानीयको गुनासो छ। वर्षौंदेखि भोग्दै आएको समस्याप्रति गम्भीरता देखाउँदै आङ्देम्बेले निर्माण कम्पनीका प्रतिनिधिलाई ढिलासुस्ती नगर्न चेतावनी दिएका छन्।
उनले आवश्यक बजेट व्यवस्थापनका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै समयमै काम सम्पन्न गर्न जोड दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।