नेपालका पहाडी कन्दरादेखि तराईका फाँटसम्म आजभोलि एउटै सन्त्रास छ— बाँदर आतकं । किसानले रोपेको मकैको घोगादेखि भान्सामा पाकेको भातसम्म बाँदरको पहुँच पुगेको छ । मानिस र बाँदरबीचको यो द्वन्द्वले गाउँहरू रित्तिएका छन् भने खेतीयोग्य जमिन बाँझो पल्टिएका छन् । यही सामाजिक र वातावरणीय समस्याको जरो पहिल्याउन र बाँदरको मनोविज्ञानलाई वैज्ञानिक आँखाले निहाल्न विराटनगरस्थित डिग्री क्याम्पसमा प्राणी विज्ञान अध्यापन गराउने रामचन्द्र अधिकारीले आफ्नो जीवनका महत्वपूर्ण समय जङ्गलका बुट्यान र बाँदरका हुलसँगै बिताए ।
उनले ‘नेपालको विभिन्न उचाइअनुसार रातो बाँदरको पारिस्थितिकीय र व्यवहारगत अध्ययन’ विषयमा हालै भारतको रायगञ्ज विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका छन् । अनुसन्धानका क्रममा २७ वटा बाँदरलाई नाम दिएरै पछ्याउनेदेखि जङ्गलमा बाँदरको आक्रमण र भिरबाट खसेको चोटसम्म सहेका डा। अधिकारीले बाँदरको संसारलाई बुझ्ने एउटा नयाँ आँखीझ्याल खोलेका छन् । प्रस्तुत छ, उनै डा. रामचन्द्र अधिकारीसँग बाँदरको स्वभाव, खानपान र मानव–बाँदर द्वन्द्व न्यूनीकरणका उपायबारे गरिएको कुराकानी :
तपाईँले हालै नेपालको विभिन्न उचाइअनुसार रातो बाँदरको पारिस्थितिकीय र व्यवहारगत अध्ययनु विषयमा विद्यावारिधि पूरा गर्नुभएको छ । बाँदर जस्तो चुनौतीपूर्ण विषयमै अनुसन्धान गर्ने सोच कसरी आयो ?
नेपालका पहाडदेखि तराईसम्म अहिले एउटै सन्त्रास छ— बाँदर आतंक । किसानले बाली भित्र्याउन पाएका छैनन्, कतिपय गाउँ नै रित्तिएका छन् । मानिस र बाँदरबीचको यो द्वन्द्वलाई मैले केवल समस्याका रूपमा मात्र होइन, एउटा वैज्ञानिक चुनौतीका रूपमा हेरेँ । बाँदरको मनोविज्ञान र उनीहरूको आनीबानीलाई वैज्ञानिक ढंगले नबुझी यो समस्याको समाधान निस्कँदैन भन्ने लागेर मैले आफ्नो अनुसन्धान यसैमा केन्द्रित गरेको हुँ ।
अनुसन्धानका क्रममा तपाईँले बाँदरलाई कसरी पछ्याउनुभयो ?
जङ्गली बाँदरहरू मान्छे देख्नेबित्तिकै भाग्छन् । उनीहरूको सुक्ष्म अध्ययन गर्न उनीहरूसँगै घुलमिल हुनुपर्थ्यो । त्यसैले मैले २७ वटा बाँदरलाई खैरे,नाककाटे ,दोजियाुजस्ता नाम दिएर पहिचान गरेँ । जसरी हामी गोठालो जाँदा गाईबस्तुलाई नाम दिन्छौँ, त्यसरी नै नाम दिँदा कुन बाँदरले कुन समयमा के खान्छ र कस्तो व्यवहार गर्छ भन्ने अभिलेख राख्न सहज भयो । म कतिपय समय त रुखको ओझेलमा लुकेर घन्टौँसम्म उनीहरूका गतिविधि नियाल्थेँ ।
तपाईँको शोधले बाँदरको खानपानका बारेमा के –कस्ता नयाँ तथ्यहरू बाहिर ल्याएको छ ?
हामी सामान्यतया बाँदरले फलफूल मात्र खान्छ भन्ठान्छौँ, तर त्यो सत्य होइन । मेरो अध्ययनका क्रममा मैले बाँदरले १०८ भन्दा बढी प्रजातिका वनस्पति खाने गरेको पाएँ । उनीहरूले रुखका पात, मुन्टा, बोक्रा र भ्याङ्गे कमिला समेत खाँदा रहेछन् । अझ रोचक कुरा त के भने, बाँदरहरू अद्भुत डाइटिसियन रहेछन् । उनीहरूले आफ्नो शरीरलाई कुन मौसममा कस्तो पोषक तत्व चाहिन्छ भन्ने कुरा यति सन्तुलित ढंगले मिलाएर खाँदा रहेछन् कि जुन आधुनिक मानवले पनि सिक्नुपर्ने देखिन्छ । शरीरमा नुन र खनिजको कमी हुँदा उनीहरूले माटो खाने र ढुङ्गा चाट्ने समेत गर्दा रहेछन् ।
तपाईँले धरान, रामधुनी र धनकुटाका बाँदरमा के –कस्तो भिन्नता पाउनुभयो ?
ठाउँअनुसार बाँदरको स्वभावमा ठूलो अन्तर पाइयो । धरानका मन्दिर वरपरका बाँदरहरू मानिसले दिने तयारी खानेकुरा (बिस्कुट, चाउचाउ) मा पल्किएर अल्छे र आक्रामक भएका छन् । उनीहरू जङ्गल जान छाडेर मानिसको झोला खोस्न बढी सक्रिय छन् । तर रामधुनी र धनकुटाका भित्री जङ्गलका बाँदरहरू अझै स्वावलम्बी छन् र मानिसबाट टाढै रहन रुचाउँछन् । धनकुटाका बाँदरहरूले सुरक्षित आश्रयका लागि बाँसघारीलाई बढी रोज्ने गरेको देखियो ।
अनुसन्धानका क्रममा तपाईँले निकै चुनौती र जोखिम पनि मोल्नुभयो होला नि ?
हो, यो यात्रा सहज थिएन । जङ्गलको चिसो र कष्ट सहेर चार वर्ष बिताउनुपर्यो । पूर्व –सर्वेका क्रममा म इलाममा पहाडको टुप्पोबाट लडेर घाइते भएको थिएँ । त्यस्तै, धनकुटाको जङ्गलमा अध्ययन गर्दा बाँदरको हुलले ममाथि आक्रमण नै गरेको थियो, मेरो साथीले मलाई बचाउनुभयो । फोकल एनिमल स्याम्पलिङ गर्दा एउटै बाँदरलाई दिनभरि छायाँजस्तै पछ्याउनुपर्थ्यो, जुन निकै धैर्यताको काम थियो ।
अहिलेको मुख्य समस्या मानव–बाँदर द्वन्द्वु हो । तपाईँको अध्ययनका आधारमा यसलाई न्यूनीकरण गर्ने उपाय के हुन सक्छन् ?
यसको समाधान बाँदरलाई सिध्याउनु होइन, बरु उनीहरूलाई जङ्गलमै भुलाउनु हो । जब हामी सामुदायिक वन सफा गर्ने नाममा साना बुट्यान र बाँसघारी नष्ट गर्छौं, तब बाँदर आहार र बासस्थानको खोजीमा बस्ती पस्छन् । मेरो सुझाव छ— जङ्गलभित्र बाँदरले रुचाउने फलफूलका बिरुवा रोपौँ, बाँसघारीको संरक्षण गरौँ र जङ्गलमा मानिसको अनावश्यक हस्तक्षेप कम गरौँ । अर्को मुख्य कुरा, सडक वा मन्दिरमा बाँदरलाई मानवीय खानेकुरा दिएर परनिर्भर बनाउने काम बन्द गर्नुपर्छ ।
अन्त्यमा, तपाईँको यो अनुसन्धानले राज्यलाई नीति निर्माणमा कसरी सहयोग पुर्याउला ?
यो अनुसन्धान नेपालको पारिस्थितिकीय प्रणालीलाई बुझ्ने एउटा दरिलो दस्तावेज हो । मैले उचाइअनुसार बाँदरका लागि आवश्यक पर्ने वनस्पतिहरूको सूची नै सिफारिस गरेको छु । यदि सरकारले वन्यजन्तु व्यवस्थापनका नीति बनाउँदा यी वैज्ञानिक तथ्यहरूलाई आधार मान्ने हो भने एकातिर किसानको बाली जोगिनेछ र अर्कोतिर प्रकृतिको यो सुन्दर जीवको पनि संरक्षण हुनेछ ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।