लोड हुँदैछ...

मेनु

अन्तरवार्ता

उपेक्षाको अन्धकारबाट नमुना वडा बन्दै विराटनगर–१९ : वडाध्यक्ष श्याम घिमिरे

उपेक्षाको अन्धकारबाट नमुना वडा बन्दै विराटनगर–१९ : वडाध्यक्ष श्याम घिमिरे

विराटनगर । कुनै समय विराटनगर महानगरपालिकाभित्रै रहेर पनि विकासको दृष्टिकोणले निकै पछाडि पारिएको क्षेत्र थियो— साविकको झापा बैजनाथपुर अर्थात् हालको विराटनगर वडा नम्बर १९ । महानगरमा ढिलो गरी जोडिएका कारण यस वडाले लामो समय उपेक्षाको नियति भोग्नुपर्‍यो । सामान्य उपचारका लागि मुख्य बजार धाउनुपर्ने, जीर्ण सडकका कारण हिँडडुल गर्नै सकस हुने र सामुदायिक विद्यालयहरू विद्यार्थीविहीन बन्दै जाने अवस्था यहाँको यथार्थ थियो । तर, स्थानीय निर्वाचनपश्चात् जननिर्वाचित प्रतिनिधिहरूको आगमनसँगै यो वडाको मुहार फेरिएको छ । आज वडाभित्र करिब २२ किलोमिटर सडक कालोपत्रे भएको छ, स्वास्थ्य चौकी ‘नगर स्तरीय आधारभूत अस्पताल’मा रूपान्तरण भएको छ भने सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेको छ । विकासको यो तीब्र गति र सुकुम्वासी व्यवस्थापनको दीर्घकालीन योजनाका विषयमा हामीले विराटनगर–१९ का वडाध्यक्ष श्याम घिमिरेसँग छोटो अनलाइन कुराकानी गरेका छौँ । प्रस्तुत छ अन्तरवार्ताको सम्पादित अंश ।

हिजोको बैजनाथपुर र आजको विराटनगर–१९ मा के फरक छ ?

– हामी निर्वाचित भएर आउँदा यो क्षेत्र विकासका दृष्टिकोणले निकै पछाडि थियो। हामीले कार्यभार सम्हाल्ने बित्तिकै एउटा स्पष्ट मार्गदर्शक सिद्धान्त बनायौँ— ‘विगतमा कस्तो थियो, हाल कस्तो छ र भविष्यमा कस्तो बन्ने सम्भावना छ ?’ वडाको विकासलाई पहिलो प्राथमिकतामा राखेर हामी जनप्रतिनिधिहरू रातदिन फिल्डमा खटियौँ । त्यही स्पष्ट योजना र निरन्तरको दौडधुपको नतिजा हो, आज वडाको स्वरूप फेरिएको छ ।

सडक पूर्वाधारको अवस्था कस्तो छ ?

– एकदम सही प्रश्न उठाउनु भयो । हिजो मिलनचोक–महेशपुर सडक खण्ड मात्र थियो, त्यो पनि अत्यन्तै जीर्ण । हिउँदमा धुलो र वर्षामा हिलोले हिँड्न सकिँदैनथ्यो । तर अहिले हामीले करिब २० देखि २२ किलोमिटर सडक कालोपत्रे (पिच) गरिसकेका छौँ । सडक भत्किन नदिन र स्थायित्वका लागि करिब ५० किलोमिटर क्षेत्रमा पर्खाल र व्यवस्थित कल्भर्ट निर्माण गरेका छौँ । ग्राभेलिङलाई तीव्रता दिएर आज हाम्रो वडालाई लगभग हिलोमुक्त बनाउन सफल भएका छौँ ।

शिक्षा र स्वास्थ्यमा के प्रगति गर्नुभयो ?

– यो हाम्रो वडावासीका लागि सबैभन्दा ठूलो र गर्व गर्न लायक उपलब्धि हो । हिजो सामान्य सिटामोल लिन पनि मुख्य बजारका महँगा अस्पताल धाउनुपर्ने बाध्यता थियो । अहिले हामीले बैजनाथपुर स्वास्थ्य चौकीलाई स्तरउन्नति गरेर महानगरकै उत्कृष्ट ‘नगर स्तरीय आधारभूत अस्पताल’ बनाएका छौँ । अहिले त्यहाँ चौबीसै घण्टा एमबिबिएस डाक्टर उपलब्ध हुनुहुन्छ । आकस्मिक सेवा, बर्थिङ सेन्टर (प्रसूति सेवा), आधुनिक ल्याब, एम्बुलेन्स सेवा र स्वास्थ्य बिमा मार्फत निःशुल्क उपचारको व्यवस्था आफ्नै वडामा छ । निम्न वर्गीय परिवारले आफ्नै आँगनमा यो सुविधा पाउँदा हामीलाई निकै सन्तुष्टि मिलेको छ ।

सामुदायिक विद्यालयहरूको अवस्थामा सुाधर आयो कि आएन ?

– हाम्रा ४ वटा सामुदायिक विद्यालयको भौतिक अवस्था पहिले निकै जीर्ण थियो, विद्यार्थी आउने वातावरण नै थिएन । हामीले व्यवस्थापन समितिसँग मिलेर विद्यालयमा शुद्ध खानेपानीको फिल्टर, इन्टरनेट र सुरक्षार्थ सिसिटिभी जडान गर्‍यौँ । सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रा दुईवटा विद्यालय पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा सञ्चालित छन् । वडाका साथीहरूले घरदैलो अभियान नै चलाएपछि, हिजो निजी विद्यालयमा महँगो शुल्क तिरेर पढिरहेका विपन्न वर्गका बालबालिकाहरू पुनः सामुदायिक विद्यालयमै फर्किएका छन् ।

तपाईले भन्नुभएअनुसार झन्डै एक हजार घरधुरी रहेको सुकुमबासीको व्यवस्थापनबारे केही पहल गर्नुभएको छ ?

– यो निकै संवेदनशील र हाम्रो प्राथमिकताको विषय हो । वर्षौँदेखि आवास र जमिनको अधिकारबाट बञ्चित करिब १ हजार सुकुम्वासी परिवार हाम्रो वडामा हुनुहुन्छ । हामीसँग पर्याप्त सरकारी जग्गा पनि छ । अब हाम्रो लक्ष्य भनेको मन्त्रिपरिषद् (क्याबिनेट) बाटै निर्णय गराएर उहाँहरूलाई जग्गा धनी पुर्जा दिलाउने हो । त्यो सरकारी जग्गामा हामी एउटा सुविधासम्पन्न ‘नमूना एकीकृत बस्ती’ बसाल्न चाहन्छौँ, जहाँ खेल मैदान, विद्यालय, ढल र व्यवस्थित सडक हुनेछन् । यस बृहत् संरचनाका लागि करिब ५० करोड बजेट आवश्यक पर्छ, जसका लागि हामीले संघीय र प्रदेश सरकारसँग निरन्तर पहल गरिरहेका छौँ ।

अन्त्यमा, सिंघिया घाटलाई व्यस्थित गर्ने र गिरिजाप्रसाद कोईराला अन्तराष्ट्रिय क्रिकेट रङ्गशालाको विकासमा के पहल भयो ? समग्रमा विराटनगर–१९ को भविष्य कस्तो देख्नुहुन्छ ?

– भौतिक विकाससँगै मानवीय आस्था र पर्यटनलाई पनि हामीले जोडेका छौँ । दाहसंस्कार मात्र गरिने सिंघिया घाटलाई अहिले ‘स्वर्गघाट’को रूपमा विकास गरी प्रत्येक सोमबार ‘शिवगंगा आरती’ सञ्चालन गर्न थालिएको छ । त्यहाँ मलामीका लागि विश्रामस्थल र विशाल द्वादश ज्योतिर्लिङ्ग मन्दिर निर्माण भइरहेको छ । साथै, युवाहरूका लागि गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशालाको डिपिआर स्वीकृत गराएर बजेट माग गरेका छौँ र किसानलाई कृषिमा आधुनिक औजार वितरण गरेका छौँ । स्थानीयको साथ र माथिल्लो सरकारको थप सहयोग प्राप्त भयो भने, म दाबीका साथ भन्छु— आगामी दिनमा विराटनगर–१९ मुलुककै उत्कृष्ट नमूना वडा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।