लोड हुँदैछ...

मेनु

‘नियम विपरीत शुल्क लिएका छैनौं, भ्रमको पछि नलागौं’

‘नियम विपरीत शुल्क लिएका छैनौं, भ्रमको पछि नलागौं’

सरकारले भर्ना शुल्क नलिन स्पष्ट निर्देशन दिए पनि निजी विद्यालयहरूले विभिन्न शीर्षकमा रकम असुलिरहेको गुनासो अभिभावकहरूले गर्दै आएका छन् । विराटनगरका नाम चलेका विद्यालयहरूले स्थानीय तहले निर्धारण गरेको शुल्कभन्दा बढी रकम लिएको विषयले चर्चा पाइरहेको छ । यसै सन्दर्भमा केन्द्रित रहेर प्याब्सन विराटनगर महानगरका अध्यक्ष अर्जुन श्रेष्ठसँग हाम्रोमतले गरेको कुराकानीको सम्पादित अंश :

यस वर्ष सरकारले भर्ना अभियान ढिलो गरी सुरु ग¥यो । यसले शैक्षिक क्यालेन्डर व्यवस्थापनमा कस्तो असर पारेको छ ?
– सरकारले भर्ना अभियान ढिलो सुरु गर्दा निजी विद्यालयहरूलाई प्रत्यक्ष असर परेको छ । यसै अवधिमा ’सरकारले निजी विद्यालयहरू बन्द गराउँदै छ’ भन्ने भ्रमपूर्ण हल्ला फैलाइयो, जसका कारण निजी विद्यालयमा अध्ययनरत केही विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन पुगे । अझ, सीमावर्ती क्षेत्रका केही विद्यार्थी भारतीय विद्यालयमा भर्ना भएको जानकारी समेत हामीले पाएका छौं । गत शैक्षिक सत्रको अन्तिम परीक्षा चैत दोस्रो हप्तासम्म सम्पन्न गरी वैशाख पहिलो हप्तादेखि नयाँ सत्र प्रारम्भ गर्ने हाम्रो पूर्वयोजना थियो । तर, वैशाख १५ देखि मात्र भर्ना अभियान र २१ गतेदेखि कक्षा सञ्चालन गर्ने जस्ता सरकारका अपरिपक्व निर्णयले निजी विद्यालयहरू मारमा परेका छन् । यसका साथै सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णयले पठनपाठनमा नकारात्मक असर पारेको छ ।

सरकारले भर्ना शुल्क नलिन स्पष्ट निर्देशन दिए पनि निजी विद्यालयहरूले विभिन्न शीर्षकमा रकम असुलिरहेको गुनासो छ नि ?
– हामी नियम–कानुनको पूर्ण पालना गरेर नै विद्यालय सञ्चालन गर्छौं । भर्ना शुल्कका विषयमा सामाजिक सञ्जालमा फैलिएको हल्ला र वास्तविकता फरक छ । शिक्षा नियमावलीमै भर्ना शुल्क, वार्षिक शुल्क र मासिक शुल्कसहित जम्मा १४ वटा शीर्षकमा शुल्क लिन पाउने स्पष्ट व्यवस्था गरिएको छ । सबै विद्यालयले सोही व्यवस्थाको पालना गरेका छन् । स्थानीय पालिकाले कक्षागत वा तहगत रूपमा लिन पाउने अधिकतम मासिक शुल्क तोक्ने प्रावधान छ । नियमावली अनुसार, भर्ना हुँदा एक पटकका लागि एक महिनाको शुल्क बराबरको भर्ना शुल्क र मासिक शुल्कको दोब्बरसम्म वार्षिक शुल्क हरेक वर्ष लिन पाइन्छ । मासिक शुल्कलाई नै आधार बनाएर अन्य शुल्कहरू लिने कानुनी प्रावधान स्पष्ट रहेकाले हामीले नियम विपरीत शुल्क असुलेका छैनौं । केही विद्यालयले थप सुविधा प्रदान गरेको आधारमा थप शुल्क लिन पाउने प्रावधान समेत रहेको छ ।


विराटनगरका १२१ मध्ये जम्मा ५३ वटा विद्यालयले मात्र वर्गीकरणका लागि आवेदन दिएका छन् । धेरै नाम चलेका विद्यालय प्रक्रियामा नआउनुको कारण के हो ?
– यो नियमनभन्दा माथि हुन खोजेको विषय होइन । धेरैजसो विद्यालय तत्कालीन जिल्ला शिक्षा कार्यालयबाट पहिले नै वर्गीकरण भइसकेका छन् । ती विद्यालयहरूको अभिलेखीकरणका लागि आवश्यक पत्र शैक्षिक प्रशासन महाशाखामा नपुगेकाले मात्र तथ्याङ्कमा यस्तो देखिएको हो । यस प्रक्रियालाई पूर्णता दिन र समन्वय गर्न प्याब्सन विराटनगरले कार्य सुरु गरिसकेको छ । सबै विद्यालय नियमसम्मत चल्नुपर्छ भन्नेमा हामी प्रष्ट छौं ।
भर्ना शुल्क विवाद र वर्गीकरण प्रक्रियामा देखिएको ढिलाइले अभिभावक र विद्यालयबीच अविश्वास बढेको देखिन्छ नि ?
– हामीलाई विद्यालय र अभिभावकबीच अविश्वास बढेको जस्तो लाग्दैन । हामीले अभिभावकका उचित गुनासाहरूलाई सधैं सम्बोधन गर्दै आएका छौं । स्थानीय सरकार हाम्रो अभिभावक हो । विराटनगर महानगरपालिकालाई ‘शैक्षिक हब’ बनाउने अभियानमा महानगर जुटिरहेको छ । यस अभियानलाई सफल बनाउन निजी विद्यालयहरूले पालिकाका नीति, नियम र निर्देशनहरूलाई आत्मसात् गर्दै प्रभावकारी समन्वयका साथ अगाडि बढिरहेका छौं । हाम्रो साख हाम्रो गुणस्तरले जोगाएको छ ।
सातामा दुई दिन बिदा दिने निर्णयले पाठ्यक्रम पूरा गर्न कत्तिको चुनौती थपेको छ ?
– पेट्रोलियम पदार्थको असहज परिस्थितिलाई देखाएर सरकारले तत्कालका लागि सातामा दुई दिन बिदा घोषणा गरेको छ । तर, पाठ्यक्रम परिमार्जन नगरी वा अन्य बिदाहरू कटौती नगरी यसरी अघि बढ्दा निर्धारित समयमा कोर्स पूरा हुन कठिन हुन्छ । यसले विद्यार्थीको सिकाइ उपलब्धिमा ह्रास ल्याउँछ । सरकारले यस व्यावहारिक चुनौतीको तत्काल उचित समाधान खोज्न जरुरी छ, अन्यथा शैक्षिक गुणस्तरमा सम्झौता गर्नुपर्ने अवस्था आउन सक्छ ।

वैशाख महिनाको शुल्क लाग्दैन भन्ने हल्ला पनि सुनिन्छ, यसमा सत्यता के हो ?
– यो केवल एउटा भ्रम मात्र हो । शिक्षा नियमावलीले स्पष्ट रूपमा १२ महिनाकै शुल्कको व्यवस्था गरेको छ र अधिकांश अभिभावकहरूले यो कुरा बुझ्नुभएको छ । कुल विद्यार्थी संख्याको झन्डै ३४ प्रतिशतलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेका तथा लाखौंलाई रोजगारी दिइरहेका निजी विद्यालयहरूलाई निरुत्साहित पार्न केही तत्वले यस्तो हल्ला फैलाइरहेका हुन् । यस्ता भ्रमको पछाडि नलाग्न म सम्पूर्ण अभिभावक महानुभावहरूलाई आग्रह गर्दछु ।

अन्त्यमा, केही भन्नुहुन्छ ?
– के स्पष्ट पार्न चाहन्छु भने निजी अर्थात् संस्थागत विद्यालयहरू नेपाल सरकारबाट कानुनी रूपमा अनुमति एवं स्वीकृति प्राप्त गरी बालबालिकाहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न स्थापना भएका हुन् । देशमा सामुदायिक विद्यालयले मात्र सबै बालबालिकालाई समेट्न नसकिरहेको अवस्थामा निजी विद्यालयहरूले राज्यको त्यो रिक्ततालाई प्रभावकारी रूपमा पूरा गरिरहेका छन् ।
यस क्षेत्रले राज्यको ठुलो आर्थिक भार वहन गरेको छ । लाखौँ युवाहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्नुका साथै विदेश पलायन हुन चाहने अर्बौँ रुपैयाँ स्वदेशमै रोकेर अर्थतन्त्रमा समेत ठुलो टेवा पु¥याएको यथार्थ कसैसामु छिपेको छैन । यसका साथै, हामीले विपन्न, जेहेनदार र असहाय बालबालिकाहरूलाई ठुलो संख्यामा छात्रवृत्ति प्रदान गरेर राज्यको दायित्वलाई समेत सहयोग गरिरहेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।