लोड हुँदैछ...

मेनु

ताप्लेजुङमा हिउँचितुवाको आतंक

ताप्लेजुङमा हिउँचितुवाको आतंक

ताप्लेजुङ । कञ्चनजंघा हिमाल जाने मार्गमा पर्ने खम्बाछेन क्षेत्रमा हिउँचितुवा बस्तीमै पसेर घरपालुवा जनावर सिकार गर्न थालेपछि स्थानीयमा त्रास फैलिएको छ।

गत बुधबार साँझ सोनाम शेर्पाको गोठमा पसेर दुई वर्षको याक मारेपछि गाउँभरि चौंरीहरू आतंकित बनेका हुन्।

स्थानीयका अनुसार दिउँसोदेखि नै हिउँचितुवाको आवाज सुनिएपछि गोठालाहरूले चौंरीलाई बस्ती नजिकै ल्याएका थिए। तर, साँझपख गोठमै पसेर याक खाएपछि सयौँ चौंरी आत्तिएर भागाभाग हुँदा नियन्त्रण गर्न गाउँलेलाई रातभर हम्मेहम्मे परेको थियो।

घटनापछि चौंरीहरूमा असामान्य व्यवहार देखिएको छ। बिहीबार र शुक्रबारसम्म उनीहरू घर नजिकै झुम्मिने, चरनतिर जान नमानेर जबरजस्ती खेदाए फर्किने जस्ता गतिविधि देखिएको हिउँचितुवा उपसमितिका अध्यक्ष पान्जोक्ला शेर्पाले बताइन्। जङ्गलबाट हिउँचितुवाको आवाज लगातार सुनिँदा पशुचौपाय झनै त्रसित बनेका छन्।

स्थानीयका अनुसार बस्तीमै आएर यसरी सिकार गरेको यो पछिल्लो एक दशकयताकै पहिलो घटना हो। यसअघि खर्क क्षेत्रमा एक्लै रहेका चौंरीमाथि आक्रमण हुने गरेको थियो। बस्ती नजिकै सिकार हुन थालेपछि मानिसमा समेत त्रास बढेको पर्यटन व्यवसायी नुपु शेर्पाले बताए।

समुद्री सतहबाट करिब ४१०० मिटर उचाइमा रहेको खम्बाछेन पर्यटकका लागि प्रमुख बासस्थान हो। यहाँ फागुनदेखि जेठ र असोजदेखि मंसिरसम्म पर्यटकको चहलपहल रहने गर्छ। यस्तो घटनाले पर्यटनमा समेत असर पर्ने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्अन्तर्गत उपसमितिले हिउँचितुवाले मारेका पशुचौपायाबापत अधिकतम १० हजार रुपैयाँ क्षतिपूर्ति दिने व्यवस्था गरेको छ। तर, मरेको याकको मूल्य कम्तीमा ४५ हजार रुपैयाँ पर्ने भएकाले क्षतिपूर्ति अपर्याप्त भएको भन्दै पशुपालकले गुनासो गरेका छन्।

सामान्यतया ५१०० मिटरभन्दा माथिल्लो क्षेत्रमा बस्ने हिउँचितुवा आहार अभावका कारण बस्ती नजिक आउन थालेको हुनसक्ने अनुमान गरिएको छ। यसले मानव–वन्यजन्तु द्वन्द्व बढ्ने जोखिमसमेत औँल्याएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।