लोड हुँदैछ...

मेनु

धरानको नयाँ बसपार्क वैशाख १५ भित्र सञ्चालन हुने

धरानको नयाँ बसपार्क वैशाख १५ भित्र सञ्चालन हुने

धरान । लामो समयदेखि कानुनी विवादका कारण रोकिँदै आएको धरानको नयाँ बसपार्क अब सञ्चालनमा आउने तयारीमा पुगेको छ।

कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाका अनुसार कार्यपालिकाबाट पास भएको कार्यविधि नगरसभाले अनुमोदन गरेपछि वैशाख १५ भित्र बसपार्क उद्घाटन गरिनेछ।

बसपार्क निर्माणसँग जोडिएको मुद्दा सर्वोच्च अदालतले उपमहानगरपालिकाको पक्षमा फैसला गरिसकेको छ। यससँगै बाँकी प्रशासनिक प्रक्रिया पूरा गरी सञ्चालनको तयारी तीव्र पारिएको छ।

यातायात व्यवसायीहरूले भने तत्कालै स्थानान्तरण गर्न चुनौती देखिएको बताएका छन्। राष्ट्रिय यातायात व्यवसायी महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठका अनुसार यात्रुको पहुँच, पूर्वाधार र व्यवस्थापन स्पष्ट नभएसम्म पूर्ण रूपमा सार्न कठिन हुनसक्छ।

धरान–८ सुन्दर बस्तीमा निर्माण भएको आधुनिक बसपार्क करिब २३ करोड रुपैयाँ लागतमा तयार गरिएको हो। २०५८ सालमा सुरु भएको यो परियोजना विभिन्न अवरोधका कारण लामो समय सञ्चालनमा आउन सकेको थिएन।

बसपार्क सञ्चालनमा आएपछि भानुचोक क्षेत्रमा देखिएको ट्राफिक चाप कम हुने र सहरी व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।