लोड हुँदैछ...

मेनु

धनकुटाबाट १३ फिट लामो राज गोमन सर्प उद्धार

धनकुटाबाट १३ फिट लामो राज गोमन सर्प उद्धार

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका–३ र ६ को सिमाना कागते क्षेत्रबाट करिब १३ फिट लामो राज गोमन (किङ कोब्रा) सर्पको उद्धार गरिएको छ।

पहाडी क्षेत्रमा दुर्लभ रूपमा देखिने यस सर्पको उपस्थितिले स्थानीयमा त्राससँगै चासो पनि बढाएको छ।

शनिबार महालक्ष्मी नगरपालिका–५ लेगुवाका सर्प उद्धारकर्मी प्रदीप श्रेष्ठले सर्पलाई सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन्। करिब १ हजार ३०० मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा तीन दिनदेखि बसिरहेको अवस्थामा सर्प फेला परेको थियो।

स्थानीयको खबरपछि पुगेका श्रेष्ठले जोखिमपूर्ण अवस्थामा सर्प नियन्त्रणमा लिएको जनाइएको छ। उद्धार गरिएको सर्पलाई डिभिजन वन कार्यालय धनकुटासँग समन्वय गरी सुरक्षित प्राकृतिक बासस्थानमा छोड्ने तयारी भइरहेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए।

उद्धारकर्मी श्रेष्ठका अनुसार राजगोमन अत्यन्तै विषालु सर्प हो । यसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ। “सामान्य अवस्थामा आफैं आक्रमण नगर्ने भएपनि खतरा महसुस गरे आक्रामक बन्न सक्छ,” उनले बताए।

पछिल्लो ९ वर्षदेखि सर्प उद्धारमा सक्रिय श्रेष्ठले गत दुई वर्षमै धनकुटाका विभिन्न क्षेत्रमा पाँच वटा राजगोमन उद्धार गरी जंगलमा छोडिसकेको बताए। उनका अनुसार जलवायु परिवर्तनका कारण यस्ता विषालु सर्पहरू पहाडी तथा चिसो क्षेत्रमा पनि देखिन थालेका छन्, जसले मानव बस्तीमा जोखिम बढाउने संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।