इनरुवा । इनरुवा नगरपालिका क्षेत्रभित्र पर्ने पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अतिक्रमित क्षेत्र खाली गराउन नगरपालिकाले डोजर चलाउन सुरु गरेको छ।
नगरपालिकाका अनुसार पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरिएपछि बाध्य भएर आफैं डोजर प्रयोग गरेर अतिक्रमण हटाउने अभियान सुरु गरिएको हो।
राजमार्ग तथा बजार क्षेत्रमा सडक मापदण्ड मिचेर कवाडी व्यवसाय सञ्चालन, निर्माण सामग्री थुपार्ने तथा पसलका सामान राख्ने कार्यले आवतजावतमा समस्या बढेपछि यस्तो कदम चालिएको जनाइएको छ। नगरप्रमुख केदार भण्डारीले बारम्बार सूचना दिँदा समेत अटेर गरिएकाले नगरपालिका आफैंले अतिक्रमित संरचना हटाउन थालेको बताए।
डोजर चलेपछि केही व्यवसायीले स्वेच्छाले संरचना हटाउने प्रतिबद्धता जनाएका छन्। त्यस्ता व्यक्तिहरूलाई समय दिइएको र तोकिएको अवधिमा नहटाए नगरपालिका पुनः कारबाहीमा उत्रिने उनले स्पष्ट पारे।
डोजरसहित राजमार्ग क्षेत्रमा पुगेका नगरप्रमुख भण्डारीले बजार क्षेत्रभित्रको अतिक्रमण पनि चरणबद्ध रूपमा हटाइने जानकारी दिए। अतिक्रमण हटाउने क्रममा केही समय विवादसमेत भएको भए पनि अन्ततः सहमतिमा काम अघि बढाइएको नगरपालिकाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।