लोड हुँदैछ...

मेनु

नक्कली नम्बर प्लेट भएका चार गाडी नियन्त्रण

नक्कली नम्बर प्लेट भएका चार गाडी नियन्त्रण

इटहरी । सुनसरीको इटहरी स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले नक्कली नम्बर प्लेट प्रयोग गरी सञ्चालन गरिएका चारवटा सवारी साधन नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।

कार्यालय तथा मातहतका इकाइहरूले संयुक्त चेकिङका क्रममा विभिन्न स्थानबाट ती सवारी साधन नियन्त्रणमा लिएका हुन्।

आवश्यक कागजात नभएको र आफुखुसी नक्कली नम्बर प्लेट राखी कानूनविपरीत सञ्चालन गरिएका सवारीलाई विशेष सूचनाका आधारमा नियन्त्रणमा लिएको कार्यालय प्रमुख दीपक गिरीले जानकारी दिए। प्रहरीका अनुसार चैत १० गते इटहरी चोकबाट प्र.१–०१–००१ च ९९१२ नम्बरको टाटा पन्च निजी कार, चैत ५ गते भोक्राहा नरसिंह गाउँपालिका–३ लौकहीबाट प्रदेश २–००२ च ४०९८ नम्बरको महेन्द्रा बोलेरो पिकअप, चैत २४ गते बिर्तामोड–५ बाट बा१३ च ७७६ नम्बरको हुण्डाई आई २० कार र चैत ५ गते भद्रपुर–९ चन्द्रगढीबाट एसके ०१ पिए ३०२९ नम्बरको भारतीय मारुति सुजुकी कार नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनका इन्जिन र चेसिस नम्बर आरसी बुकमा उल्लेखित विवरणसँग नमिलेको पाइएपछि थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि कोशी ब्यारेज स्थित सेतुबन्ध भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सवारीहरू त्यसै छोडिएको अवस्थामा भेटिएकाले हालसम्म कुनै चालक वा धनी पक्राउ परेका छैनन्। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।