विराटनगर । खोटाङको दक्षिणी भेग भरियाको गाउँको रुपमा चिनिन्छ । अहिले पनि कतिपय बुढापाकाले भरियाको गाउँ भनेरै त्यस ठाउँलाई बुझ्छन् । तर, त्यो परिभाषा विस्तारै बदलिँदै छ । किनकी खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा मोटरेबल पुलको कामले गति लिएको छ ।
बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोसीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते २४ करोड ९१ लाख रुपैयाँमा निर्माणको सम्झौता भएको थियो । २०७४ भदौ ३१ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । २०७६ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याउने गरी सम्झौता गरिए पनि काम भएको थिएन । ९ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा स्थानीय निराश थिए । यद्यपि अहिले काम तीब्र गतिमा अगाडि बढेको छ ।
खोटाङबाट निर्वाचित प्रदेश सांसद भुपेन्द्र राईले पुल निर्माणका क्रममा अप्ठ्यारो अवस्था देखिएको स्थानमा बुधबार पिल्लर ठडिएको छ । ‘अब एउटा पिल्लर बनिसक्ने हो भने ८३ सालभित्रमा मोटरेबल पुल संचालन हुने आशा गर्न सकिन्छ,’ उनले भने ।
यो पुल बनेपछि खोटाङ प्रत्यक्ष रुपमा तराईसँग जोडिन्छ । त्यहाँबाट प्रत्यक्ष यातायात चल्दा कृषिजन्य उत्पादनले बजार पाउने खोटाङका जनताको आशा रहेको दिप्रुङ चुइचुम्मका अमृत गिरीले बताए ।
सांसद राईका अनुसार खोटाङको बराहपोखरी, जन्तेढुंगा, खोटेहाङ र दिप्रुङ चुईचुम्मा गाउँपालिकाका जनता यो पुल बनेपछि तराईसँग सिधा आवत जावत गर्न सक्नेछन् । ‘खोटाङका झण्डै ३५ प्रतिशत जनता लाभान्वित हुनेछन्,’ राईले भने । पुल निर्माणको काम रसुवा कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।
पछिल्लोपटक थपिएको म्यादअनुसार २०८४ साल जेठ १९ गतेसम्ममा पुल निर्माणको काम सम्पन्न गर्नुपर्छ । २०८३ चैतभित्रमा धाप्लाङघाटबाट सवारी साधन वारपार गराउनेगरी काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
धाप्लाङघाटमा खोटाङ र उदयपुर दुवैतर्फ वर्षौँअघि कच्ची सडक निर्माण गरेर यातायात सञ्चालन गर्ने गरिएको छ । तर पक्की पुल नहुँदा ठूला सवारीसाधन वारपार हुँदैन थिए । मोटरसाइकल भने झोलुङ्गे पुलबाटै वारपार गर्दै आएका थिए ।
४ अर्ब ६२ करोडका पुल बन्दै
कोशी प्रदेशका पहाडी तथा तराईका जिल्लाहरू जोड्ने महत्वपूर्ण सडक सञ्जालअन्तर्गत निर्माणाधीन पुलहरूको काम भने सुस्त गतिमा भइरहेको पाइएको छ । सङ्घीय सरकारको सडक विभागअन्तर्गत पुल सेक्टर (धरान) ले हेर्ने गरी ४ अर्ब ६२ करोड ५३ लाख बढी रकममा छुट्टा छुट्टै सम्झौता भएका दुई दर्जन पुलमध्ये अधिकांशको प्रगति निराशाजनक देखिएको हो ।
ती पुलहरुमा हालसम्म एक अर्ब ५८ करोड ९९ लाख ३० हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यो कुल सम्झौताको करिब ३४.३७ प्रतिशत हो । त्यसमध्ये रणनीतिक पुलको रुपमा रहेका ९ वटा पुलको प्रगति झनै निराशाजनक छ । हालसम्म उक्त पुलहरुको ७६ करोड ९८ लाखमा ठेक्का सम्झौता भएपनि वित्तीय प्रगति भने १५ करोड २७ लाख मात्रै रहेको छ । त्यसको तुलनामा १३ वटा रहेका स्थानीय पुलका लागि कूल ३ अर्ब ८५ करोड ५५ लाख २० हजारमा ठेक्का लागेको छ भने हालसम्म एक अर्ब ४३ करोड ७१ लाख रुपैयाँ भुक्तानी भएको छ । उता, कार्यालयको तथ्याङ्क अनुसार निर्माणाधीन २२ वटा पुलमध्ये केवल ३ वटाको मात्र प्रगति सन्तोषजनक छ भने बाँकी आयोजनाहरू वर्षौँदेखि निर्माणाधीन अवस्थामा अल्झिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।