विराटनगर । सङ्घीय सरकारले इन्धन बचत र खर्च कटौती भन्दै सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि त्यसको प्रभाव दुर्गम क्षेत्रमा उल्टै समस्या बनेको छ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले उक्त निर्णयलाई अव्यवहारिक ठहर गर्दै आइतबारको बिदा नमान्ने निर्णय गरेको छ।
गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुका अनुसार, कार्यपालिका बैठकले स्थानीय भौगोलिक कठिनाइका कारण पुरानै कार्यतालिका कायम गर्ने निष्कर्ष निकालेको हो। उनका अनुसार, काठमाडौँजस्तो सहरी क्षेत्रमा उपयुक्त देखिने निर्णय दुर्गम क्षेत्रमा लागू गर्न निकै चुनौतीपूर्ण छ।
“हाम्रो यहाँका कर्मचारी र सेवाग्राही बिहानै साढे ६ बजे घरबाट हिँड्नुपर्छ, कतिपयलाई त कार्यालय पुग्नै २–३ घण्टा पैदल यात्रा गर्नुपर्ने अवस्था छ,” अध्यक्ष पोमुले भने, “यस्तो अवस्थामा बिहान ९ बजे कार्यालय पुग्नु व्यवहारिक छैन।” पालिकाका कर्मचारीहरू समेत यही समस्याबाट प्रभावित भएको उनको भनाइ छ।
फुङलिङबाट पैदल आउने कर्मचारीहरू बिहानै हिँड्न बाध्य छन्, जसले दैनिक कामकाजमा थप दबाब सिर्जना गरेको छ। स्थानीय तह आफैँमा सरकार भएकाले आफ्नो भूगोल र आवश्यकताअनुसार निर्णय गर्ने अधिकार रहेको उल्लेख गर्दै अध्यक्ष पोमुले संघीय निर्णयलाई आँखाचिम्लेर लागू गर्दा जनताले दुःख पाउने अवस्था आएको बताए।
“काठमाडौँ मात्रै नेपाल होइन,” उनले भने, “हाम्रो परिवेश फरक छ, त्यसलाई बेवास्ता गरेर बनाइएको नीति यहाँ लागू हुँदैन।” विशेषगरी आर्थिक वर्षको अन्त्यतिर विकास निर्माणका काम तीव्र बनाउनुपर्ने समय भएकाले थप बिदाले काम प्रभावित हुने उनको भनाइ छ।
गाउँपालिकाले सातामा ६ दिन सेवा दिने र कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कायम राख्ने निर्णय गरेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।