लोड हुँदैछ...

मेनु

विराटनगरमा चोरीका सिटी खरिद गर्ने कवाडी गोदाममा प्रहरीको छापा

विराटनगरमा चोरीका सिटी खरिद गर्ने कवाडी गोदाममा प्रहरीको छापा

विराटनगर– विराटनगरबाट चोरी भएका सिटी सफारीहरू कवाडी गोदाममा पुर्‍याएर पार्टपूर्जा गरी बिक्री गर्ने गरिएको खुलासा भएको छ । विराटनगर–६ सरैचियास्थित विजय सहनीको कवाडी गोदाममा चोरीका सफारी फेला परेपछि यस्तो तथ्य बाहिर आएको हो ।

मोरङ प्रहरीलाई प्राप्त विशेष सूचनाका आधारमा बिहीबार दिउँसो उक्त गोदाममा छापा मारिएको थियो । प्रहरीले खानतलासी गर्दा गोदामभित्र प्लाष्टिकजन्य कवाडी सामानले छोपेर लुकाइराखेको अवस्थामा दुई थान सिटी सफारीका पार्टपूर्जाहरू फेला पारेको छ ।

मोरङ प्रहरीका प्रवक्ता एवं डिएसपी लिलाराज लामिछानेका अनुसार चोरीका सफारी खरिद गरेर त्यसका पार्टपूर्जा अलग्याई लुकाएर राखिएको अवस्थामा बरामद गरिएको हो । “विराटनगर र आसपासका क्षेत्रबाट चोरी भएका सिटी सफारीहरू यो गोदाममा खरिद गर्ने गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ,” डिएसपी लामिछानेले भने, “अहिले हामी अनुसन्धानकै क्रममा छौं, थप विवरण खुल्न बाँकी छ ।”

गोदाम सञ्चालक सहनीले कति रकममा चोरीका सफारी खरिद गर्थे भन्नेबारे प्रहरीले खोजी गरिरहेको छ । प्रहरी टोली पुगेको सुइँको पाएलगत्तै सञ्चालक सहनी फरार भएका छन् । विराटनगरसहित मोरङका विभिन्न स्थानमा पछिल्लो समय सिटी सफारी चोरी हुने क्रम बढेपछि प्रहरीले निगरानी तीव्र पारेको थियो । फरार सहनीको खोजी भइरहेको र बरामद गरिएका सामानबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।