काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफूलाई राजनीतिक प्रतिशोध साध्नकै लागि गैरकानुनी रूपमा नियन्त्रणमा लिएको आरोप लगाएका छन् । सर्वोच्च अदालतको परमादेशपछि बिहीबार रिहा भएलगत्तै सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले मुद्दा चलाउने कुनै आधार र प्रमाण नपुगेपछि अन्ततः आफू रिहा भएको बताएका हुन् ।
‘सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण रूपमा फौजदारी अभियोग लगाई १३ दिनसम्म गैरकानुनी नियन्त्रणमा राखे पनि मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु,’ ओलीले लेखेका छन् ।
आफ्नो रिहाइका लागि आवाज उठाउने न्यायप्रेमी जनसमुदाय, कानुन व्यवसायी, राजनीतिक दल, नेता र सञ्चारकर्मीहरूप्रति आभार प्रकट गर्दै उनले सर्वोच्च अदालतको परमादेशको सम्मान गरेका छन् । यस्तै, हिरासतमा रहँदा मानवीय व्यवहार गर्ने प्रहरी प्रशासन र उपचारमा संलग्न त्रिवि शिक्षण अस्पताल (टिचिङ) परिवारलाई पनि उनले धन्यबाद भनेका छन् ।
अध्यक्ष ओलीले आफ्नो रिहाइको माग गर्दै प्रदर्शन गर्ने क्रममा घाइते भएकाहरूको स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचार खर्च राज्यले बेहोर्नुपर्ने माग गरेका छन् । ‘उहाँहरूको उपचार खर्च राज्यले बेहोर्नु पर्दछ, यसमा राज्य उदासीन भए पार्टीले उपचार खर्च बेहोर्ने जानकारी गराउँछु,’ ओलीले लेखेका छन् ।
प्रतिकूल स्वास्थ्य अवस्थाका कारण आफू अझै केही दिन अस्पतालमै रहेर उपचार गराउने जानकारी पनि ओलीले दिएका छन् । हिरासतमा रहँदा उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो।
बालेन्द्र शाह नेतृत्वको सरकारले चैत १३ गते गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै चैत १४ गते ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेका थिए। दुवै नेता बिहीबार रिहा भएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।