काठमाडौं । सर्वोच्च अदालतको परमादेशपछि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक बिहीबार हिरासतमुक्त भएका छन् । अदालतले अब थप म्याद नथप्न परमादेश जारी गरेपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो ।
जेनजी आन्दोलनका सम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सिलसिलामा प्रहरीले लेखकलाई गत चैत १४ गते बिहान भक्तपुरबाट पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले उनलाई हिरासतमा राख्न तेस्रोपटक दिएको पाँच दिनको म्याद गएराति सकिएको थियो ।
बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा प्रहरीले भोलिपल्ट बिहानै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।
अध्यक्ष ओली पनि बिहीबार नै रिहा भएका छन् । सर्वोच्चले म्याद थप नगर्न आदेश दिएसँगै दुवै नेतालाई प्रक्रिया पुर्याएर हाजिरी जमानीमा छोडिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।