लोड हुँदैछ...

मेनु

धरान अस्पतालको जग्गा फिर्ता गर्न प्रधानमन्त्रीलाई कावा मेयर बेघाको पत्र

धरान अस्पतालको जग्गा फिर्ता गर्न प्रधानमन्त्रीलाई कावा मेयर बेघाको पत्र

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले पुरानो धरान अस्पतालको जग्गा फिर्ता गराई नगर अस्पताल स्थापना गर्न व्यवस्था मिलाइदिन प्रधानमन्त्री बालेन्द्र शाह लाई पत्र लेखेका छन्।

नागरिक समाज र सरोकारवालाको दबाबपछि बेघाले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उक्त जग्गा पुनः उपमहानगरपालिकाको स्वामित्वमा ल्याउने पहल गरिदिन अनुरोध गरेका हुन्। उनले धरानका नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले पुरानो अस्पतालकै स्थानमा नगर अस्पताल सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गरेका छन्।

बेघाले लेखेको पत्रमा मन्त्रिपरिषद्को २०७५ साउन ११ गतेको निर्णयअनुसार उक्त जग्गा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान को नाममा गएको कारण कानुनी जटिलता उत्पन्न भएको उल्लेख गरिएको छ। सोही स्थान नगर अस्पतालका लागि उपयुक्त भएकाले जग्गा पुनः धरान अस्पतालको नाममा उपलब्ध गराउन माग गरिएको छ।

उनका अनुसार जग्गा फिर्ताको निर्णय मन्त्रिपरिषद्बाट मात्र सम्भव हुने भएकाले केन्द्र सरकारको हस्तक्षेप आवश्यक छ। यसैका लागि धरानबाट प्रतिनिधिमण्डल काठमाडौँ जाने तयारीसमेत भइरहेको उनले बताएका छन्।

धरानमा करिब २ लाख जनसंख्या हुँदाहुँदै पनि नगर अस्पताल नहुँदा स्थानीयवासी सामान्य उपचारका लागि समेत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा निर्भर रहनुपर्ने बाध्यता छ। दैनिक हजारौँ बिरामी आउने उक्त प्रतिष्ठानमा सामान्य सेवा लिन समेत लामो समय कुर्नुपर्ने अवस्था रहेको छ।

स्वास्थ्य बीमा अन्तर्गतको प्रथम विन्दु सेवा पनि अब तीन महिनापछि बन्द हुने भएपछि स्थानीयवासी थप समस्यामा पर्ने देखिएको छ। त्यसपछि बीमितहरूले अन्य स्थानीय तहका सरकारी अस्पताल धाउनुपर्ने वा शुल्क तिरेर उपचार गर्नुपर्ने अवस्था आउन सक्छ।

यसैबीच, धरान–१६ स्थित भकारी स्कुलमा नगर अस्पताल सञ्चालन गर्ने चर्चा बाहिरिएपछि स्थानीयस्तरमा विरोध बढेको छ। अधिकांश सरोकारवालाहरूले पुरानै अस्पतालको जग्गा फिर्ता ल्याएर सोही स्थानमा नगर अस्पताल निर्माण गर्नुपर्ने माग गर्दै आएका छन्।

इतिहासअनुसार राणा प्रधानमन्त्री जुद्धशमशेर राणाको पालामा स्थापना भएको धरान अस्पताल पछि सरकारी अस्पतालका रूपमा सञ्चालनमा आएको थियो। तर, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएपछि अस्पताल सेवा त्यहाँ सारिँदा पुरानो संरचना प्रयोगविहीन बन्दै गएको थियो।

हाल उक्त क्षेत्र खण्डहर अवस्थामा पुगेको छ भने जग्गा उपयोगविहीन र अतिक्रमणको जोखिममा रहेको छ। यसैलाई लिएर अहिले धरानमा नगर अस्पताल स्थापनाको बहस पुनः चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।