काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो जीवन खुला किताबजस्तै रहेको भन्दै कुनै पनि विषयलाई अतिरञ्जित नगर्न अपिल गरेका छन् ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएपछि बुधबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो आग्रह गरेका हुन् । सार्वजनिक पदमा रहँदा आफूले सधैँ पारदर्शिता अपनाएको दाबी गर्दै उनले भनेका छन्,‘नेपालको कानूनअनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।’
हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै देउवाले वास्तविकता समयक्रमसँगै प्रष्ट हुने बताएका छन् । उनले अगाडि लेखेका छन्, ‘स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु । वास्तविकता समयक्रमसँगै खुल्दै जाने नै छ । अतिरंजना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’
देउवाले मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कानूनी संरचना निर्माणमा आफ्नो मुख्य भूमिका रहेको समेत स्मरण गराएका छन् । आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री भएको समयमा २०५९ सालमा भ्रष्टाचार निवारण ऐन लागू गरिएको उनले उल्लेख गरेका छन् ।
‘भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शिता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएसँगै पूर्वप्रधानमन्त्री देउवाको यो स्पष्टीकरण आएको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।