लोड हुँदैछ...

मेनु

विराटनगर विमानस्थलमा एक्कासी आगो लागेपछि….

विराटनगर विमानस्थलमा एक्कासी आगो लागेपछि….

विराटनगर । विराटनगर विमानस्थलको रनवे नजिक बुधबार बिहान एक्कासी आगो दन्किएर कालो धुवाँको मुस्लो देखियो ।

‘जहाजमा आगो लाग्यो’ भन्ने हल्लासँगै विमानस्थल बाहिरका स्थानीयदेखि भित्रका कर्मचारी, प्रहरी र सेनासमेत घटनास्थलतर्फ दौडिएका थिए। दमकल र एम्बुलेन्स साइरन बजाउँदै रनवेतर्फ पुगेका थिए ।

उक्त दृश्य वास्तविक नभई नागरिक उड्डयन प्राधिकरणले गरेको ‘पूर्णकालीन अभ्यास’ (फूल स्केल एक्सरसाइज) थियो । अभ्यासअनुसार काठमाडौंबाट विराटनगरका लागि उडेको ‘एक्सरसाइज एयर’ को इए–००६ उडान अवतरणका क्रममा प्राविधिक समस्यामा परेको परिकल्पना गरिएको थियो। विमानमा ५५ जना सवार रहेको देखाइएको थियो।

पहिलो प्रयासमा अवतरण गर्न नसकेको विमानले पुनः अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको दृश्य तयार पारिएको थियो। त्यसपछि आगो दन्किएको, उद्धारकर्मीहरू स्ट्रेचर लिएर घाइतेको उद्धारमा जुटेको तथा दमकलले आगो नियन्त्रणमा लिएको अभ्यास प्रदर्शन गरिएको थियो।

सुरक्षाकर्मी, रेडक्रस र कर्मचारीहरू स्ट्रेचर लिएर उद्धारमा जुटेका थिए । आगो नियन्त्रणका लागि विराटनगर महानगरपालिकाको दमकललाई समेत बोलाइएको थियो । विमानस्थलको अत्याधुनिक दमकलले पानी र केमिकलको फोहरा प्रयोग गरी आगो निभाएको थियो ।

अभ्यासमा पाँच जनाको मृत्यु, ६ जना गम्भीर घाइते र ३९ जना सामान्य घाइते भएको परिदृश्य बनाइएको थियो। घाइतेलाई अस्पताल पठाउने र मृतकको शव पोस्टमार्टमका लागि लैजाने प्रक्रिया समेत नाटकीय रूपमा देखाइएको थियो।

विमानस्थलका सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार यस्तो अभ्यास जहाज दुर्घटनाको अवस्थामा हुने जोखिम न्यूनीकरण, उद्धार कार्य प्रभावकारी बनाउने र उद्धारकर्मीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले गरिन्छ। उनका अनुसार प्रत्येक दुई वर्षमा ‘फूल एक्सरसाइज’ र प्रत्येक एक वर्ष ६ महिनामा ‘पार्सियल एक्सरसाइज’ गर्ने व्यवस्था रहेको छ।

अभ्यासको जानकारी नपाएका वरपरका स्थानीय केहीबेर आत्तिएका थिए । तर, विमानस्थल प्रशासनले मंगलबार सूचना जारी गरेर यसबारे जानकारी गराएको थियो । यस्तो अभ्यास आपतकालीन अवस्थामा तयारी बलियो बनाउन अत्यन्त आवश्यक हुने विमानस्थल प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।