लोड हुँदैछ...

मेनु

एमाले मोरङका नेताको चुनौती : केपी ओलीबाट अब पार्टी चल्दैन, विकल्प खोजौँ

एमाले मोरङका नेताको चुनौती : केपी ओलीबाट अब पार्टी चल्दैन, विकल्प खोजौँ

विराटनगर । नेकपा एमालेको बलियो गढ मानिने मोरङका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमाथि गम्भीर प्रश्न उठाउँदै खुला चुनौती दिएका छन् । विराटनगरमा आयोजित पार्टीको विस्तारित बैठकमा सहभागी तल्लो तहका नेताहरूले ‘अहिलेकै अनुहार र कार्यशैलीबाट पार्टी चल्न नसक्ने’ निष्कर्ष निकाल्दै ओलीको विकल्प खोज्न ढिलाइ गर्न नहुने चेतावनी दिएका हुन् ।

बैठकमा सहभागी जिल्ला तथा स्थानीय तहका नेताहरूले अध्यक्ष ओलीको कार्यशैलीकै कारण एमाले रक्षात्मक अवस्थामा पुगेको र पार्टीको साख गिर्दै गएको बताए । पार्टी उपमहासचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा कार्यकर्ताको ‘मूड’ बुझ्न खोज्दा नेताहरूले नेतृत्व परिवर्तनको एजेन्डालाई मुख्य विषय बनाएका थिए ।

एमाले मोरङका सचिव सोमराज थापाका अनुसार बैठकमा सहभागी झन्डै १५ जना नेताहरूले फ्लोरबाटै नेतृत्व परिवर्तनको माग उठाएका थिए । निर्वाचनको नतिजा र वर्तमान राजनीतिक अन्योलको मुख्य कारण नेतृत्वको अदूरदर्शिता रहेको उनीहरूको ठम्याइ थियो । ‘अहिलेको बदलिएको परिस्थितिमा पुरानै ढर्रा र पुरानै अनुहारले पार्टी चल्न सक्दैन भन्ने कुरा साथीहरूले प्रस्टसँग राख्नुभयो,’ सचिव थापाले भने, ‘नेतृत्व परिवर्तन अब हाम्रो अनिवार्य आवश्यकता बनेको छ ।’

बैठकमा केराबारी गाउँ कमिटीका अध्यक्ष भीम कार्कीले झन् कडा रूपमा प्रस्तुत हुँदै पार्टीको वर्तमान संरचना र नेतृत्व दुवै असफल भएको दाबी गरे । उनले अबको एमाले केपी ओलीको नेतृत्वमा अगाडि बढ्न नसक्ने भन्दै पार्टीलाई ‘शून्य’ बाट पुनर्गठन गर्नुपर्ने प्रस्ताव गरे । ‘नेतृत्व र संरचना परिवर्तन अब ढिला भइसक्यो,’ कार्कीले भने, ‘आवश्यक परे पार्टी सदस्यता नै खारेज गरेर नयाँ ढङ्गबाट आवेदन माग गरौँ र युवाहरूलाई नेतृत्व सुम्पौँ, नत्र एमाले जोगिँदैन ।’

बैठकमा नेताहरूले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउनुलाई नेतृत्वको रणनीतिक भूलको रूपमा व्याख्या गरे । तत्कालीन नेकपा विभाजनपछि एमालेले बेहोर्नुपरेको ठूलो क्षति र त्यसलाई सम्हाल्न नेतृत्वले देखाएको कमजोरीमाथि पनि कडा आलोचना भयो । वैचारिक नेता भीम रावलहरूलाई पार्टीमा स्थान नदिनु र पाखा लगाउनुले पार्टीलाई ठूलो नोक्सान पुर्‍याएको उनीहरूको तर्क थियो ।

विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरी र बुद्धिजीवी परिषद् मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले नेतृत्वको असफलतामाथि प्रश्न उठाउँदै अब पनि यही नेतृत्वमा गए पार्टी सकिने चेतावनी दिएका थिए । एमाले संसदीय दलको नेता छनोटमा समेत नेतृत्वले सुहाङ नेम्वाङजस्ता युवालाई अवसर नदिएर फेरि पुरानै अनुहार दोहोर्‍याएको भन्दै उनीहरूले आक्रोश पोखे । ‘सुहाङलाई दलको नेता बनाएको भए कार्यकर्तामा राम्रो सन्देश जान्थ्यो, तर नेतृत्वले त्यो अवसर गुमायो,’ कार्कीले थपे ।

अध्यक्ष ओलीमाथि राजनीतिक र कानुनी प्रश्न उठ्दा र उनी समस्यामा पर्दा समेत कार्यकर्ता सडकमा नआउनु नै नेतृत्वप्रतिको अविश्वास भएको नेताहरूको भनाइ थियो । यही वास्तविकतालाई चिर्न बोलाइएको बैठकमा उल्टै नेतृत्व परिवर्तनको बाढी आएपछि प्रमुख अतिथि प्रदीप ज्ञवाली रक्षात्मक बनेका थिए । उनले कार्यकर्ताको भावनालाई पार्टीले ध्यान दिने र समयक्रममा कमजोरीहरू सच्चिने भन्दै सान्त्वना दिने प्रयास गरेका थिए ।

मोरङका नेताहरूले खुला रूपमा ‘केपी ओलीबाट अब पार्टी चल्दैन’ भन्नुले एमालेभित्र ठूलो आन्तरिक विद्रोहको संकेत गरेको छ । यसले पार्टीको आगामी महाधिवेशन र सांगठनिक संरचनामा ठूलो फेरबदलको दबाब सिर्जना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।