विराटनगर । मंगलबार सेयरबजार परिसूचक नेप्से सामान्य अंकले घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सोमबार ८३ अंकले बढेको बजार यस दिन भने घटेको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.६१ अंकले घटेर २७५७.४० विन्दुमा झरेको छ। यससँगै सेन्सेटिभ इण्डेक्स ०.७८ अंक, फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले घटेका छन्।
कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार १० अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ६ अर्ब ७३ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। यस दिन ३४५ कम्पनीका १ करोड ७४ लाख ६ हजार कित्ता सेयर ८१ हजार ५८२ पटक किनबेच भएका छन्।
मंगलबार पनि ६ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनका सेयर १० प्रतिशतको हाराहारीमा बढेका छन्। साथै त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य पनि ८.५ प्रतिशतभन्दा बढीले उकालो लागेको छ।
त्यसैगरी एनआईबिएल ग्रोथ फण्डको इकाई मूल्य सबैभन्दा धेरै ७.०८ प्रतिशतले घटेको छ भने अन्य घटेका सेयरहरूको गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको २४ करोड २२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ मिल्सको २४ करोडभन्दा बढी र आँखुखोला जलविद्युत कम्पनीको २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
समूहगत रूपमा १३ उपसमूहमध्ये ४ समूहको परिसूचक बढ्दा ९ समूहको घटेको छ। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.०८ प्रतिशतले बढेको छ। बैंकिङ, हाइड्रोपावर र अन्य समूहमा सामान्य वृद्धि देखिएको छ भने व्यापार समूह सबैभन्दा धेरै १.८८ प्रतिशतले घटेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।