विराटनगर । नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन, इकाई समिति विराटनगरले भू–सेवा बन्द गरेपछि आजबाट मालपोत कार्यालय विराटनगरको कामकाज करिब ९५ प्रतिशत ठप्प भएको छ । राज्यले आफूहरूलाई अपराधी जस्तो व्यवहार गरेको र देशभर धरपकड जारी राखेको विरोधमा व्यवसायीहरूले सेवा ठप्प पारेका हुन् ।
विराटनगरमा २८ वटा भू–सेवा प्रदायक अनुमतिप्राप्त लेखापढी व्यवसायी र ५ वटा भू-सेवा मात्र प्रदान गर्ने फर्म गरी कुल ३३ वटा आधिकारिक युनिटहरू रहेका छन् । यी सबैले सेवा रोकेपछि मालपोतमा हुने जग्गाको किनबेच, नामसारी, रोक्का तथा फुकुवा लगायतका मुख्य प्रशासनिक कार्यहरू पूर्णरूपमा प्रभावित भएका छन् ।
नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन मोरङका अध्यक्ष कञ्चन न्यौपानेका अनुसार सरकारसँग विधिवत अनुमति लिएर र आवश्यक धरौटी जम्मा गरेर काम गर्दागर्दै पनि अपमानित हुनुपरेकाले काम गर्ने वातावरण नभएको हो । ‘हामीले प्रतिफर्म ५० हजार रुपैयाँ धरौटी राखेर र संघको तर्फबाट थप २ लाख रुपैयाँ धरौटी राखेर कानुन सम्मत रूपमा भू–सेवा सञ्चालन गरिरहेका छौं,’ अध्यक्ष न्यौपानेले भने ‘तर लाइसेन्स भएका व्यवसायीहरूलाई पनि विनाकारण पक्राउ गर्ने, दुःख दिने र अपमानित गर्ने काम भइरहेको छ । यस्तो अवस्थामा कार्यालय गएर सेवा दिन सक्ने स्थिति छैन ।’
एशोसिएसनले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल लेखापढी कानून व्यवसायी परिषद् ऐन २०५१ र भू–सेवा ऐन २०७६ बमोजिम राज्यका न्यायिक तथा अर्धन्यायिक निकायबाट अनुमति प्राप्त गरी पेशा सञ्चालन गरिरहेको उल्लेख छ । सुशासनको नाममा प्रशासनिक हस्तक्षेप गरी पेशागत मर्यादामाथि प्रहार भएको उनीहरूको ठहर छ ।
अध्यक्ष न्यौपानेले भने ‘सरकारले कि त कानुन बनाएर हामीलाई यो क्षेत्रबाट हटाउनुपर्यो, नत्र अनुमति लिएर बसेकाहरूलाई सहजरुपमा र सम्मानजनक ढंगले काम गर्न दिनुपर्यो । पेशागत सुरक्षाको ग्यारेन्टी नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
विराटनगर मालपोतमा दैनिक सयौँको संख्यामा आउने सेवाग्राहीहरू आज काम नभएपछि रित्तो हात फर्कनुपरेको छ । अनलाइनबाट मात्र हुने भू–सेवाका कार्यहरू निजी क्षेत्रका व्यवसायीहरूले रोकेपछि सरकारी संयन्त्रले मात्र ९५ प्रतिशत लोड धान्न नसक्दा मालपोत कार्यालय सुनसान जस्तै बनेको छ । एशोसिएसनले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमा मागेको छ तर आफ्नो सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने अडान लिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।