लोड हुँदैछ...

मेनु

अर्थमन्त्री वाग्लेले आज विराटनगरका उद्योगीसँग छलफल गर्दै

अर्थमन्त्री वाग्लेले आज विराटनगरका उद्योगीसँग छलफल गर्दै

विराटनगर । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणको तयारी भइरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज विराटनगरका उद्योगी व्यवसायीहरूसँग प्रत्यक्ष छलफल गर्ने तय भएको छ ।

राजस्व परामर्श समितिको आयोजनामा हुने अन्तर्क्रिया कार्यक्रममा सहभागी हुन अर्थमन्त्री वाग्ले विराटनगर आउन लागेका हुन् ।

अर्थमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक विराटनगरका उद्योगी व्यवसायीहरूसँग औपचारिक छलफल गर्न लागेका वाग्लेले विशेषगरी राजस्वको क्षेत्रमा गर्नुपर्ने सुधार र उद्योग तथा व्यापार क्षेत्रमा सरकारले लिनुपर्ने आगामी नीतिका बारेमा सुझाव संकलन गर्नेछन् ।

मोरङ उद्योग व्यापार संघको ‘समृद्धि हल’मा दिउँसो १ः३० बजेदेखि सुरु हुने सो कार्यक्रममा कोशी प्रदेशका प्रमुख व्यावसायिक संस्थाहरूको सहभागिता रहनेछ।

छलफलका क्रममा विराटनगरका दुई ठूला व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले दुई छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्ने तयारी गरेका छन्। ती कार्यपत्रमार्फत उद्योगीहरूले विद्यमान आर्थिक अवस्था, राजस्वका दरहरूमा हुनुपर्ने परिमार्जन र औद्योगिक वातावरण सुधारका लागि बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिनेछन्।

कार्यक्रममा मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशसमेतको सहभागीता रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।