लोड हुँदैछ...

मेनु

उद्योग वाणिज्य महासंघ कोशीमा राउत र रिजाल भिड्दै

उद्योग वाणिज्य महासंघ कोशीमा राउत र रिजाल भिड्दै

विराटनगर । उद्योगी–व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि आइतबार निर्वाचन हुँदैछ।

विराटनगरमा आयोजना भएको महासंघको ८औँ प्रदेशसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

अध्यक्ष पदका लागि विराटनगरका उद्योगीहरु राजेन्द्र राउत र नविन रिजाल प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । राउत वर्तामान कार्यसमितिका अध्यक्ष हुन् भने रिजाल केन्द्रीय सदस्य हुन् । दुबैले एक महिनादेखि प्रदेशभर सक्रिय रूपमा चुनावी अभियान सञ्चालन गरेका थिए ।

निर्वाचन कार्यक्रमअनुसार आइतबार दिउँसो १ बजे उम्मेदवारी मनोनयन दर्ता हुनेछ। बेलुकी ६ बजेदेखि ८ बजेसम्म मतदान हुने र त्यसपछि मतगणना गरी परिणाम घोषणा गरिनेछ । महासंघले आइतबार रातिसम्म नयाँ कार्यसमिति पाउने अपेक्षा गरिएको छ।

राउत र रिजाल दुवैले आ–आफ्नो प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रने तयारीमा छन् । करिब ८ वर्षअघि मोरङ व्यापार संघको निर्वाचनमा उनीहरु आमने सामने भएका थिए । सो निर्वाचनमा रिजाल पक्ष विजयी बनेको थियो।

महासंघभित्र यसपटक पनि समूहगत ध्रुवीकरण स्पष्ट देखिएको छ। राउत महासंघका केन्द्रीय अध्यक्ष चन्द्र ढकाल निकट समूहका मानिन्छन् भने रिजाल वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ पक्षसँग नजिक छन्।

राउत शिवम् अर्गनाइजेशनका अध्यक्ष हुन् । उनले महासंघ कोशीमा उपाध्यक्ष र अध्यक्षको भूमिका निर्र्वाह गरिसकेका छन् । उनकै पहमा महासंघको कार्यालय भवन निर्माण भइरहेको छ । महासंघको प्रदेशका संस्थापक रहेका राउत सामाजिक रुपमा पनि स्थापित छन् ।

मोरङ व्यापार संघका अध्यक्ष रहिसेका रिजाल बैंक ब्याजदर वृद्धि, फलाम उद्योगमा कर तथा भन्सारका विषयमा आन्दोलन गर्दै निजी क्षेत्रका समस्या समाधानका लागि आफूले विगतमा खेलेको भूमिका विस्तार गर्न खोजेको बताउँछन् । महासंघ कोशीको निर्वाचनमा कुल २०५ जना मतदाता रहेका छन्। जिल्ला–नगर उद्योग वाणिज्य संघबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटतर्फबाट १४८ जना मतदाता रहनेछन्।

निर्वाचनबाट १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट), १ जना कोषाध्यक्ष गरी ५ जना पदाधिकारी चयन हुनेछन्। साथै जिल्ला–नगरतर्फ ५, वस्तुगततर्फ २ र एसोसिएटतर्फ २ जना सदस्य गरी कुल १४ सदस्यीय प्रदेश समिति चयन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।