लोड हुँदैछ...

मेनु

एमाले नेता बरालले पराजयको अर्को रेकर्ड बनाउँलान् ?

एमाले नेता बरालले पराजयको अर्को रेकर्ड बनाउँलान् ?

विराटनगर । संसदीय र पार्टीको आन्तरिक निर्वाचनमा लगातार पराजित भएपनि समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेका नेकपा एमालेका नेता गुरु बरालले पराजयको अर्को रेकर्ड बनाउने भएका छन् ।

प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिएर बरालले पराजयको श्रृंखलामा अर्को रेकर्ड थप्न लागेका हुन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमत रहेकोकले बराल सभामुखको उम्मेदवार भएपनि पराजित हुने निश्चित छ ।

बरालले अहिलेसम्म दर्जनौं निर्वाचन लडे पनि एक पटक प्रतिनिसभाको निर्वाचन जित्नुबाहेक सँधै पराजित भएका छन् । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र रहेपनि उनी एमालेको गत महाधिवेशनमा केन्द्रीय सदस्य र उपाध्यक्षमा पनि पराजित भएका थिए । तर, उनलाई ओलीले समानुपातिक सुचिको पहिलो नम्बरमा राखेकोले उनी प्रतिनिधिसभा सदस्य भएका हुन् ।

रास्वपाले सभामुखमा उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ । प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद छन् । बहुमतको लागि १३८ सांसद भए पुग्छ । एमालेका भने जम्मा २५ मात्र सांसद छन् । एमालेले बराललाई सभामुख पदमा उम्मेदवार बनाएमा उसले एमालेबाहेक अन्य दलको मत पाउने संभावना छैन ।

एमाले सांसद ऐन महरले विपक्षीले उम्मेदवारी दिए समर्थन गर्ने नभए आफ्नै दलबाट उम्मेदवार अगाडि सार्ने समझदारी बनेको बताएका छन् । ‘प्रमुख विपक्षीले उम्मेदवारी दिए समर्थन गर्छौं, नभए हामी आफैँ सभामुखमा उम्मेदवारी दिन्छौँ’ उनले भने ।

कुनै दलले बहुमत ल्यायो भन्दैमा प्रक्रिया नछोड्ने एमालेले जनाएको छ । विपक्षमा रहेको दल नेपाली कम्युनिष्ट पार्टीले भने सभामुखमा उम्मेदवारी नदिने बताएको छ । यस्तै काँग्रेसले पनि सभामुखमा उम्ममेदवारी नदिने जनाएको छ । दुबै दलले उपसभामुख भने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।