काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप दुई दिन हिरासतमा राख्न अनुमति दिएको छ।
बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले अनुसन्धानका लागि दुई दिन म्याद थप गर्ने आदेश दिएको हो।
अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार चैत १९ गतेबाट लागू हुने गरी दुई दिनको म्याद थप गरिएको छ। सरकारी वकिलको कार्यालयमार्फत प्रहरीले भने १० दिनको म्याद माग गरेको थियो ।
अदालतका अनुसार लेखकको बयान लिने काम सकिएको छ भने केपी शर्मा ओलीको बयान लिने कार्य अझै जारी छ। आदेशमा ओलीको बयान पूरा गर्न तथा अन्य अनुसन्धानका कार्य सम्पन्न गर्न हिरासत आवश्यक रहेको उल्लेख गरिएको छ।
यसअघि आइतबार न्यायाधीश आनन्द श्रेष्ठको इजलासले ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। सो म्याद बुधबार सकिएपछि पुनः म्याद थप गरिएको हो।
अदालतको आदेशमा ओलीको स्वास्थ्य अवस्था जटिल रहेको विषय पनि उल्लेख गरिएको छ। बयान सम्पन्न भएपछि उनको स्वास्थ्य उपचारमा असर नपर्ने गरी अनुसन्धान अघि बढाउन अदालतले आदेश दिएको छ ।
भदौ २३ र २४ गते भएको घटनाको अनुसन्धानका लागि बनेको जाँचबुझ आयोगले दुवै जनामाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेको थियो। सो दफाअनुसार लापरबाहीपूर्ण काम गरी ज्यान मार्न नहुने कसुरमा ३ देखि १० वर्षसम्म कैद र ३० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ भने हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
सरकारले आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै दुवै जनालाई पक्राउ गरिएको थियो। पक्राउपछि गैरकानुनी हिरासतको दाबी गर्दै उनीहरूले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन्।
सर्वोच्च अदालतमा सो रिटमाथि सुनुवाइ हुँदै विपक्षीसँग लिखित जवाफ माग गरिएको छ भने आयोगको प्रतिवेदन समेत पेश गर्न आदेश दिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।