एजेन्सी । दुई साताभित्रै टुङ्गिने अनुमान गरिएको अमेरिका-इरान युद्ध एक महिना नाघिसक्दा पनि अझै केही समय लम्बिने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको बढीमा तीन साताभित्र अमेरिकी सेना इरानबाट फिर्ता हुने घोषणा गर्दै युद्ध अन्त्यका लागि नयाँ समयसीमा सार्वजनिक गरेका हुन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले इरानमा जारी सैन्य अभियानको मुख्य उद्देश्य पूरा भइसकेको दाबी गरे। उनले इरानको आणविक क्षमता ध्वस्त पारिएको र अब ‘अन्तिम काम’ मात्र बाँकी रहेकाले दुई देखि तीन हप्ताभित्रै अमेरिकी सेना स्वदेश फर्कने बताए। यद्यपि, सुरुवाती चरणमा अत्यन्तै छोटो समयमा सकिने भनिएको यो युद्ध एक महिनाभन्दा बढी लम्बिनु र फेरि तीन साताको समय थपिनुले युद्ध तत्कालै टुङ्गिनेमा आशंका उब्जाएको छ।
ट्रम्पले इरानी सैन्य शक्ति पूर्ण रूपमा नष्ट भएको र उनीहरू सम्झौताका लागि ‘भिख’ मागिरहेको दाबी गरे पनि इरानले भने त्यसलाई सिरेबाटै अस्वीकार गरेको छ। इरानले ट्रम्पको दाबीलाई खण्डन गर्दै रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलडमरूमध्य (Strait of Hormuz) मा आफ्नो पकड झन् बलियो बनाएको छ। इरानले सो क्षेत्रबाट चल्ने जहाजहरूमाथि थप शुल्क असुल गर्न थालेको छ, जसले समुद्री व्यापारमा नयाँ तनाव सिर्जना गरेको छ।
यो लामो खिचातानीले विश्वव्यापी आपूर्ति प्रणालीमा गम्भीर असर पारेको छ। युद्धका कारण इन्धन लगायतका अत्यावश्यक वस्तुहरूको आपूर्ति शृङ्खला खल्बलिन पुग्दा विश्व बजारमा महँगी बढेको छ। ट्रम्पले सैन्य अभियान सकिएसँगै तेलको मूल्य घट्ने आश्वासन दिए पनि हर्मुज क्षेत्रमा इरानको बढ्दो सक्रियता र अमेरिकाले थप्दै लगेको समयसीमाले युद्ध अझै केही समय लम्बिने निश्चित देखिएको छ। अमेरिकाले पूर्ण विजयको दाबी गरे तापनि धरातलीय यथार्थ र इरानको प्रतिरोधले युद्धको अन्त्य ट्रम्पले भनेजस्तो सहज नहुने देखाउँछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।