लोड हुँदैछ...

मेनु

विगत नदोहोरिनेमा उद्योग परिसंघ कोशी आशावादी

विगत नदोहोरिनेमा उद्योग परिसंघ कोशी आशावादी

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले अघि सारेको सुधारका योजनाहरूबाट मुलुकमा नयाँ आर्थिक युगको सुरुवात हुने विश्वास व्यक्त गरेको छ । विगतमा राम्रा योजनाहरू कागजमा मात्र सीमित हुने र कार्यान्वयनमा नदेखिने नियति अब अन्त्य हुनेमा निजी क्षेत्र आशावादी देखिएको हो ।

परिसंघका कोशी प्रदेश अध्यक्ष पवनकुमार सारडाले एक पत्रमार्फत प्रधानमन्त्री शाहलाई बधाई तथा शुभकामना दिँदै नयाँ सरकारले कार्यभार सम्हालेकै दिन सार्वजनिक गरेको ‘शासकीय सुधारका १०० कार्यसूची र मार्गचित्र’ ले निजी क्षेत्रलाई अत्यन्त उत्साहित बनाएको बताएका छन् । उनले युवा नेतृत्वको नयाँ सोच र ऊर्जाले मुलुकले अब नवीन मार्ग लिने र औद्योगिक तथा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरेका छन् ।

परिसंघले विगत लामो समयदेखि विभिन्न मञ्चहरूमा उठाउँदै आएका अप्रासंगिक ऐन–नियमहरूको खारेजी र प्रशासनिक झन्झट हटाउने विषयलाई नयाँ सरकारले सम्बोधन गर्ने अपेक्षा लिएको छ । विशेषगरी विगतदेखि नै विवादित रहँदै आएको राजस्व अनुसन्धान विभागको संरचनामा सुधार, भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति गर्ने जनचाहना अनुरूप कार्य हुनेमा उद्योगीहरू ढुक्क देखिएका छन् । “सरकारले प्रस्तुत गरेको कार्यदिशामा उद्योग, लगानी, निजी क्षेत्र प्रवर्द्धन र प्रशासनिक पुनर्संरचनालाई प्राथमिकतामा राखिनु समृद्धितर्फको सही कदम हो,” अध्यक्ष सारडाले पत्रमा उल्लेख गरेका छन् ।

संसदीय इतिहासमा झण्डै दुईतिहाइको समर्थनसहित राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा बनेको यो सरकारले नीतिगत स्थिरता दिने कोशी प्रदेशका उद्योगीहरूको बुझाइ छ । विगतमा योजनाहरू बन्ने तर कार्यान्वयन नहुने परम्पराले विकास अवरुद्ध भएको स्मरण गर्दै परिसंघले अबका दिनमा त्यस्तो नहुने विश्वास लिएको छ । सरकारले मुलुकमा विधिको शासन स्थापित गरी आर्थिक समृद्धिको दिशामा अघि बढ्दा निजी क्षेत्रले सदैव काँधमा काँध मिलाएर साथ दिने प्रतिबद्धता समेत जनाएको छ ।

युवा प्रधानमन्त्रीको नेतृत्वमा मुलुकले आर्थिक क्रान्ति गर्ने र निजी क्षेत्रको मनोबल उकास्ने कार्यसूचीलाई प्राथमिकतामा राखिएको भन्दै परिसंघले नयाँ मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूलाई सफल कार्यकालको शुभकामना दिएको छ । विराटनगरका उद्योगी व्यवसायीहरूले सरकारको पारदर्शी कार्यशैली र स्पष्ट दृष्टिकोणले लगानीको वातावरणमा सुधार आउने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।