काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज (सोमबार) सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। महान्यायाधिवक्ताको कार्यालयले लामिछानेको मुद्दा फिर्ता लिने प्रक्रियामा गरेको ‘निर्णय संशोधन’सम्बन्धी फाइल सर्वोच्चमा पेस गरेसँगै आज त्यसमाथि बहस हुन लागेको हो।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ। आइतबार महान्यायाधिवक्ताको कार्यालयले अदालतको मागबमोजिम निर्णय संशोधनसम्बन्धी सक्कल फाइल पेस गरेको थियो।
गएको पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध दर्ता भएको ुसंगठित अपराध र सम्पत्ति शुद्धीकरणु को मुद्दा फिर्ता लिने विवादास्पद निर्णय गर्नुभएको थियो। उक्त निर्णयले कानुनी राज्यको उपहास गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो।
सुरुमा लामिछानेको हकमा मात्रै अभियोग फिर्ता लिने निर्णय भएपछि चौतर्फी आलोचना र कानुनी प्रश्न उठेको थियो। विवाद बढ्दै गएपछि महान्यायाधिवक्ता भण्डारीले माघ २ गते आफ्नो पूर्ववर्ती निर्णय सच्याउनुभएको थियो। संशोधित निर्णयमा सहकारी ठगीबाहेक लामिछानेसहित सोही मुद्दाका अन्य सबै प्रतिवादीहरूको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिने उल्लेख गरिएको छ।
आजको सुनुवाइमा महान्यायाधिवक्ताले किन र कुन आधारमा सुरुमा लामिछानेको हकमा मात्र निर्णय गरिन् र पछि किन सच्याउनुपर्यो भन्ने विषयमा केन्द्रित रहेर बहस हुनेछ। अदालतले ती फाइलहरूको अध्ययन गरी महान्यायाधिवक्ताको निर्णयको वैधानिकता र प्रक्रियागत पक्षमाथि विवेचना गर्नेछ।
लामिछानेमाथि सहकारीको बचत रकम अपचलनसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान र अभियोजन भइरहेको सन्दर्भमा सर्वोच्चको आजको सुनुवाइलाई निकै चासोका साथ हेरिएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।