विराटनगर । आगामी फागुन २१ गते हुने निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार मनोज अग्रवालले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् ।
यसै क्रममा आज रंगेलीमा र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै उम्मेदवार अग्रवालले जनताको अपार माया र उत्साहले आफ्नो जितको आधार तय गरिसकेको बताए । उनले भने, ‘हामी घरदैलो अभियानका क्रममा प्रत्येक मतदाताको घर–घरमा पुग्ने प्रयास गर्यौं । रंगेली, धनपालथान, जहदा र विराटनगरका ६ वटा वडामा एमालेप्रति जुन प्रकारको जनलहर र उत्साह देखिएको छ, यसले हाम्रो जित सुनिश्चित गरिसकेको छ ।’
चुनावी मैदानमा आफूसहित २२ जना उम्मेदवार भए पनि जनताले विकास र समृद्धिका लागि एमाले रोज्ने उनको विश्वास छ ।
मतदातासँग भोट माग्दै अग्रवालले यस क्षेत्रको मुख्य समस्याहरूलाई नै आफ्नो चुनावी एजेन्डा बनाएका छन् । उनले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेकै जनताका आधारभूत आवश्यकता पूरा गर्नु हो । गाँस, बास र कपाससँगै गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारी, सिंचाइ, खानेपानी र तटबन्धको समस्या समाधान गर्न म प्रतिवद्ध छु ।’
निर्वाचन जितेर गएपछि नेताहरू सम्पर्कविहीन हुने गरेको गुनासोलाई सम्बोधन गर्दै अग्रवालले आफू सधैं जनताको पहुँचमा रहने वाचा गरे । उनले भने, ‘कतिपय नेताहरू जितेपछि मुख देखाउँदैनन् भन्ने गुनासो छ, तर ममा त्यो रोग छैन । म सदन चल्दा सदनमा र बाँकी समय मेरा मतदाताको बीचमै हुनेछु । म सधैं फोनमा उपलब्ध हुनेछु र जनताका समस्या सुन्न प्रत्यक्ष भेटघाटमा सक्रिय रहनेछु ।’
रंगेलीको काली मन्दिरबाट सुरु भएको उक्त र्यालीमा सयौंको संख्यामा सिटी सफारी र मोटरसाइकलसहित नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता थियो । र्यालीले रंगेलीका ४, ५, ६ र ७ नम्बर वडाको परिक्रमा गर्दा मतदाताहरूले अग्रवाललाई स्वागत गरेका थिए । मौन अवधि सुरु हुन दुई दिन मात्र बाँकी रहँदा अग्रवालले शत्ती प्रदर्शन गरेका हुन् । रंगेली उनको गृह नगरी पनि हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।