जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन्।
पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको घोषणा बुधबार बिहान जारी विज्ञप्तिमार्फत गरेकी हुन्।
शर्माले पार्टी स्थापनाकालीन मूल्य, सिद्धान्त, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गतिविधि भइरहेको आरोप लगाएकी छन्। ‘राजनीतिमा युवा पुस्ता आउनुपर्छ र जान्नेलाई छान्ने’ भन्ने मूल नाराबाट प्रेरित भएर आफू पार्टीमा आबद्ध भएको उल्लेख गर्दै उनले पछिल्लो समय पार्टीभित्र देखिएको निर्णय प्रक्रिया र कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छन्।
विशेषगरी आसन्न फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सम्बन्धी पार्टीले अवलम्बन गरेको पद्दति, उम्मेदवार छनोट प्रक्रिया तथा आन्तरिक निर्णय प्रणाली पारदर्शी र विधिसम्मत नभएको उनको आरोप छ। विज्ञप्तिमा उनले संगठनमा निरन्तर खटिएका सक्षम तथा इमानदार कार्यकर्ताहरूको योगदानको उचित मूल्यांकन नभएको उल्लेख गरेकी छन्।
पार्टीभित्र विधि र विधानभन्दा बाहिर गएर निर्णय लिने प्रवृत्ति बढ्दै गएको, सिद्धान्त र व्यवहारबीच ठूलो अन्तर देखिएको तथा आन्तरिक लोकतान्त्रिक अभ्यास कमजोर बन्दै गएको उनको भनाइ छ। सबैभन्दा गम्भीर आरोपका रूपमा उनले आर्थिक अनियमितताबाट पार्टीका निर्णयहरू प्रेरित भएको दाबी गरेकी छन्।
आर्थिक स्वार्थका आधारमा निर्णय हुने परिस्थिति बनेको भन्दै शर्माले त्यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यहरूमाथि प्रत्यक्ष असर पारेको उल्लेख गरेकी छन्। “यी सबै क्रियाकलापहरूको साक्षी बसेर म अब मौन रहिरहन असमर्थ छु,” भन्दै उनले तत्काल लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने निर्णय लिएको स्पष्ट पारेकी छन्।
शर्माको राजीनामालाई रास्वपाका लागि मधेस प्रदेशमा राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ। मधेस प्रदेशमा पार्टी संगठन विस्तारमा उनले संस्थापक सभापतिको हैसियतमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी थिइन्।
यसअघि पनि उम्मेदवार छनोट तथा टिकट वितरण प्रक्रियामा आर्थिक चलखेल भएको आरोप लगाउँदै रास्वपाका केही नेता तथा कार्यकर्ताहरूले पार्टी त्याग गरेका थिए। पछिल्ला घटनाक्रमले पार्टीभित्र आन्तरिक व्यवस्थापन, पारदर्शिता र अनुशासनबारे प्रश्न उठिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।