विराटनगर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले चुनावी प्रचारप्रसार ४ गतेदेखि औपचारिक रुपमा सुरु भएको छ । तर, सामाजिक सञ्जालमा भने उम्मेद्वारी दर्ता भएको दिन माघ ६ गतेदेखि नै प्रचारको बाढी छ ।
सामाजिक सञ्जाल फेसबुकमा धेरै फलोअर्स भएका राजनीतिकर्मीहरूले आफूले मन पराएका पार्टी र चुनाव चिन्ह पनि प्रचार गरिरहेका छन् । तर, धेरै ३५ लाख बढी फलोअर्स भएर पनि आफ्नो फेसबुक पेजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता बालेन्द्र शाहले भने आफ्नो पार्टी र चुनाव चिन्हको कुनै प्रचार गरेका छैनन् । त्यति मात्रै होइन उनले आफ्नो पेजबाट आफैंलाई मतदान गर्न वा आफू उम्मेद्वार भएको जानकारी पनि गराएका छैनन् ।
बालेन निकट स्रोतका अनुसार फेसबुके भनेर विरोधीले ट्याग लगाउने भयका कारण उनले आफ्नो पेजमा चुनावी प्रचार नगरेका हुन् । ‘यस पटक फेसबुकबाट प्रचार नगरी चुनाव जित्ने हो,’ उनले भने, ‘काठमाडौंको मेयर जित्दा फेसबुकले जितायो भने, अहिले जित्दा पनि फेसबुकले जितायो भन्लान् । यस पटक आफ्नो पेजबाट भोट नै नमाग्ने हाम्रो नीति हो ।’ उनले बालेन शाहले अहिलेसम्म गाडीमा झण्डा पनि नराखेको र घण्टी चिन्हको ट्याग पनि नलाएको बताए । ‘हामी घण्टीको लोगो पनि लगाउँदैनौं, गाडीमा झण्डा पनि राख्दैनौं,’ उनले भने ।
बालेन शाहले आफ्नो फेसबुक पेजमा गएको पुस १३ गतेदेखि २९ वटा पोष्ट गरेका छन् । पुस १३ गते रास्वपा र बालेनबीच पार्टी प्रवेशको सहमति भएको थियो र रास्वपाले भावी प्रधानमन्त्रीको उम्मेद्वारको रुपमा बालेनलाई अगाडि सारेको थियो । सोही दिन बिहान बालेन शाहले आफ्नो फेसबुक पेजमा रवि लामिछाने र आफूबीच भएको सहमतिको ड्राफ्टमा हस्ताक्षर गर्दै गरेको फोटो पोष्ट गर्दै ‘शुभप्रभात’ लेखेर घण्टीको चिन्ह पोष्ट गरेका थिए । त्यसयता उनले रास्वपा र घण्टी चिन्ह अंकित कुनै पोष्ट गरेका छैनन् ।
पुस १४ गते उनले रवि लामिछाने र कुलमान घिसिङको बीचमा बसेको फोटो शेयर गर्दै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ लेखेका छन् । पुस १५ गते उनले सुदन गुरुङसँगको फोटो शेयर गर्दै उनले देश बनाउने प्रयास गरेको भन्दै सुदनको प्रशंसा गरेका छन् ।
त्यसपछि पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीको शुभकामना दिएका छन् भने अर्को पोष्टमा आफ्नै फोटो पोष्ट गर्दै ‘शुभकामना सबैलाई हामी आउँदै छौं’ मात्रै लेखेर चुनावी दौडमा आउने बताएका थिए । उनले माघे संक्रान्तीको शुभकामना दिए । माघ २ गते भुकम्प सुरक्षा दिवसको शुभकामना दिँदै उनले केही राजनीतिक सन्देश दिएका छन् । त्यसक्रममा उनले भनेका छन्, ‘अब राष्ट्रय निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ ।’
त्यस्तै उनले ल्होसारका अवसरमा माघ ५ गते शुभकामना दिएका उनले माघ ६ गते झापा ५ मा चुनाव लड्न जाने निधो गर्दै बिहानै लेखेका छन्, ‘झापा–५’ । तर उनले अरुअरु पार्टीका उम्मेद्वारले जस्तो पार्टी र चुनाव चिन्हबारे उल्लेख गरेका छैनन् ।
झापा ५ मा उम्मेद्वारी दर्ता गराएपछि दुई दिन झापामै बसेर ताप्लेजुङबाट चुनावी क्याम्पेनमा होमिएका बालेनले आफ्नो फेसबुक पोष्टमा भने त्यसको कुनै छनक दिएका छैनन् । उनले माघ ९ गते ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन गरेको प्रमाणस्वरुप फोटो पोष्ट गर्दै ‘जय पाथीभरा, जय मुक्कुमलुङ’ लेखेका छन् ।
त्यसपछि सुदूरपश्चिमको पहाडि जिल्लाको भ्रमणमा निस्किएका बालेन शाहले माघ १४ गते हिउँसहितको बाटोको फोटो पोष्ट गर्दै ‘सुदुर अब दुर नाई, भिक्कै झिक्कै माया तम्लाई’ लेखेर लभ साइन राखेका छन् ।
त्यसको भोलीपल्ट माघ १५ गते बालेनले बाजुरा जान लागेको भन्दै बडिमालिका माताले सबैको आशिर्वाद देउन् भन्ने पोष्टसहित आफ्नो फोटो राखेका छन् । माघ १६ गते सहिद दिवसको अवसरमा पटक पटक व्यवस्था फेरिए पनि सत्ताको चरित्र नफेरिएको भन्दै सदिहका सपना पुरा गर्न आफूहरु आएको सन्देश जाने गरी स्टाटस लेखेका छन् ।
सोही दिन उनले कर्णाली पुगेको फोटो राखेका छन् । माघ १८ गते आफ्नो चुनावी अभियानमा खटिरहेका दिनेश सिटौलाको निधनको विषयलाई लिएर दिनेशको फोटोसहित श्रद्धाञ्जली दिएका बालेनले चुनावी अभियानबारे केही बोलेका छैनन् । माघ २१ गते सप्तकोशी पुगेका उनले खुवालुङको बयान गर्दै बोटिङ गर्दै गरेको फोटो राखेका छन् । त्यस भ्रमणका क्रममा उनले उदयपुरको उदयपुर सिमेन्ट उद्योग क्षेत्रमा पुगेर फोटो पोष्ट गरेका छन् । माघ २२ गते उनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै दुई लाइन स्टाटस लेखेका छन्, ‘माया मात्रै रैछ देशभरी, यसरी नै देशलाई माया गर्नु, देश बन्छ ।’
बालेनले माघ २४ गते झापा गोल्डकपमा देखिएको दर्शकको क्रेजको फोटो राख्दै स्टाटस लेखेका छन् भने माघ २५ गते नेपाली टोलीले विश्वकप क्रिकेट खेल्न लागेकोमा शुभकामना दिँदै सन् २०१४ को विश्वकप क्रिकेट प्रतियिोगितामा नेपालले अफगानिस्तान र हङकङलाई हराएको भन्दै त्यसबेलाका क्रिकेटर ज्ञानेन्द्र मल्लको उत्कृष्ट प्रदर्शनको प्रशंसा गरे । त्यति मात्रै होइन उनले ज्ञानेन्द्र मल्ल समानुपातिक उम्मेद्वार रहेको भन्दै क्रिकेट देखि सदनसम्म भन्ने शीर्षक नै दिएका छन् ।
फागुन १ गते उनले गोरखाको गोरखा दरबारसहित आफ्नो फोटो पोष्ट गर्दै ‘एउटा देश, एउटा नेपाल, आज गोर्खा दरबार’ लेखेका छन् । फागुन ३ गते शिवरात्रीको अवसरमा पशुपति नाथ मन्दिरको फोटो पोष्ट गर्दै बालेननले, ‘हरहर महादेव, धर्मो रक्षति रक्षितः’ भन्ने स्टाटस लेखेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।