लोड हुँदैछ...

मेनु

पतञ्जलि जग्गा हिनामिना प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै

पतञ्जलि जग्गा हिनामिना प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री एवं नेकपाका सहसंयोजक माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भएको भ्रष्टाचार मुद्दाको आज सुनुवाइ हुँदैछ। विशेष अदालतमा तोकिएको पेसीअनुसार आज यस विषयमा गम्भीर बहस हुने भएको हो।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २२ गते ३१४ रोपनी १५ आनाभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा संस्थागत र व्यक्तिगत स्वार्थमा हस्तान्तरण गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, त्यति नै बराबरको जरिवाना र कानून बमोजिम सजायको माग दाबी गरेको छ। तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गरी सरकारी र सार्वजनिक सम्पत्ति हिनामिना गर्न मुख्य भूमिका खेलेको अख्तियारको ठहर छ।

अभियोगपत्रका अनुसार, नेपाल नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा कारोबार गर्न स्वीकृति दिने निर्णय गरेको थियो। त्यसअघि २०६६ माघ १८ गते नेपालले ुठाडो आदेशु मार्फत पतञ्जलिलाई हदबन्दीभन्दा बढी जग्गा बिक्री र सट्टापट्टा गर्न मार्गप्रशस्त गरिदिएको दाबी गरिएको छ।

कुल ३१४ रोपनी १५ आना २ पैसा १ दाम जग्गा हिनामिना भएको यस प्रकरणमा ९३ जनालाई प्रतिवादी बनाइएको छ। सरकारी जग्गालाई व्यक्तिगत र संस्थागत स्वार्थमा प्रयोग गरी राज्यलाई ठूलो आर्थिक क्षति पुर्‍याएको भन्दै अख्तियारले विशेष अदालतमा यो ठूलो भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।