धरान । हर्क साम्पाङको नेतृत्वमा रहेको ‘श्रम संस्कृति पार्टी’ ले आगामी निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र तयार गरेको छ । पार्टीले श्रम र श्रमदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउने संकल्प गर्दै नयाँ राजनीतिक दर्शन ‘हर्कवाद’ सार्वजनिक गरेको छ ।
प्रकृति, संस्कृति र प्रविधिको सन्तुलित विकासमार्फत देशलाई आत्मनिर्भर, समृद्ध र स्वाधीन बनाउने लक्ष्य राखेको यस पार्टीले श्रमलाई सर्वोपरि मूल्यका रूपमा स्थापित गर्ने नीति लिएको छ । अल्छीपन, भ्रष्टाचार, विभेद र परनिर्भरता अन्त्य गर्न अनिवार्य श्रम र श्रमदान नै अचुक उपाय हुने घोषणापत्रमा उल्लेख छ ।
श्रम संस्कृति पार्टीले देशको शासकीय स्वरूपमा आमूल परिवर्तनको प्रस्ताव गरेको छ । घोषणापत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था गरिने उल्लेख छ । जसमा एक व्यक्तिको कार्यकाल ५ वर्षको हुने र दुई पटकभन्दा बढी राष्ट्रपति हुन नपाउने प्रावधान राखिएको छ । यस्तै, संघीय तहमा दुई सदनात्मक र प्रदेशमा एक सदनात्मक संसद रहने प्रस्ताव गरिएको छ ।
शिक्षा क्षेत्रलाई व्यवहारिक र जीवनोपयोगी बनाउन पार्टीले नयाँ योजना ल्याएको छ । हप्ताको ७ दिनमध्ये ३ दिन सैद्धान्तिक अध्ययन र बाँकी ४ दिन व्यवहारिक श्रम, उत्पादन, खेलकुद तथा सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य राखिएको छ । साथै, कक्षा १२ उत्तीर्ण गरेपछि युवाहरूका लागि ६ महिनाको अनिवार्य सैनिक तालिमको प्रस्ताव समेत घोषणापत्रमा समेटिएको छ ।
पार्टीले कृषिलाई पहिलो प्राथमिकतामा राख्दै बजेट विनियोजन, उन्नत बीउ मलको उत्पादन, सिंचाइ व्यवस्थापन र सामूहिक खेतीको अवधारणा अघि सारेको छ । कृषि, उद्योग, जडीबुटी, खानी र ऊर्जामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने पार्टीको दीर्घकालीन रणनीति छ ।
भ्रष्टाचार नियन्त्रणका लागि पार्टीले कडा नीति अख्तियार गर्ने जनाएको छ । डिजिटल आर्थिक प्रणाली लागू गरी अवैध र स्रोत नखुलेको सम्पत्ति जफत गर्ने, सरकारी बैठकहरू लाइभ प्रसारण गर्ने र फजुल खर्च कटौती गरी मितव्ययी शासन प्रणाली लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
आधारभूत स्वास्थ्य सेवालाई पूर्ण रूपमा निःशुल्क बनाउने, स्वास्थ्य र शिक्षा बीमा लागू गर्ने तथा वृद्ध, अपाङ्ग, श्रमिक र मजदुरलाई विशेष सुविधा र भत्ता विस्तार गर्ने नीति घोषणापत्रमा समावेश छ ।
पार्टीका एक नेताका अनुसार यो घोषणापत्रको मस्यौदा तयार भइसकेको र छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गरिनेछ । श्रमलाई राजनीतिसँग जोड्दै ‘हर्कवाद’ मार्फत देश रूपान्तरण गर्ने दाबी गरिएको यस घोषणापत्रले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गर्ने देखिएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।