लोड हुँदैछ...

मेनु

आयोगको ६४ बुँदे निर्देशन : धर्मको नाममा मत माग्न र साम्प्रदायिक विद्वेष फैलाउन रोक

आयोगको ६४ बुँदे निर्देशन : धर्मको नाममा मत माग्न र साम्प्रदायिक विद्वेष फैलाउन रोक

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित बनाउन ६४ बुँदे विशेष निर्देशन जारी गरेको छ। आइतबार जारी गरिएको उक्त निर्देशनमा आयोगले राजनीतिक दल र उम्मेदवारहरूलाई कुनै पनि धर्मको नाममा प्रचार–प्रसार नगर्न र साम्प्रदायिक विद्वेष फैलाउने गरी मत नमाग्न कडा निर्देशन दिएको छ। निर्वाचनको निष्ठालाई कायम राख्न साम्प्रदायिक सद्भाव बिग्रने कुनै पनि गतिविधि नगर्न आयोगले सचेत गराएको हो।

सवारीसाधन प्रयोगको सवालमा आयोगले निश्चित सीमा तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिएर आफ्नो क्षेत्रमा बढीमा दुई वटा विद्युतीय वा यान्त्रिक हलुका सवारीसाधन मात्र प्रयोग गर्न पाउनेछन्। सवारीसाधन नचल्ने ठाउँमा बढीमा चार वटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। तर, अनुमति प्राप्त सवारीसाधनबाट मतदाता ओसारपसार गर्न भने पूर्ण रूपमा निषेध गरिएको छ।

सञ्चारमाध्यममार्फत गरिने प्रचारमा पनि आयोगले निश्चित मापदण्ड तोकेको छ। टेलिभिजन वा रेडियोमा प्रचार गर्दा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा चार पटक र एक पटकमा बढीमा एक मिनेट मात्र विज्ञापन बजाउन पाइनेछ। त्यस्तै, पत्रपत्रिकामा प्रत्येक दिन बढीमा चार कोलम ९२५ सेन्टिमिटर उचाइ० सम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्र प्रचार सामग्री छपाउन पाइने व्यवस्था गरिएको छ।

प्रचारप्रसार निषेध अवधि अर्थात् मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३०० मिटर वरिपरि राखिएका सबै प्रचार सामग्री हटाउनु पर्नेछ। उक्त अवधिमा कुनै पनि विधि वा माध्यमबाट मत माग्न पाइने छैन। सामाजिक सञ्जाल, अनलाइन वा छापा माध्यमबाट समेत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा सामग्री पोस्ट, सेयर वा प्रतिक्रिया गर्न वा गराउन नहुने प्रवक्ता भट्टराईले जानकारी दिए।

मतदानको दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने पोसाक, ब्याज वा अन्य साङ्केतिक वस्तु लगाउन वा बोक्न निषेध गरिएको छ। यसका साथै, आयोगले ुहरित निर्वाचनुलाई प्रोत्साहन गर्दै प्रचारप्रसारका क्रममा प्लास्टिक वा पोलिथिन जस्ता अजैविक सामग्रीको प्रयोग नगर्न र कार्यक्रम सकिएपछि प्रयोग भएका सामग्रीहरूको उचित व्यवस्थापन गर्न निर्देशन दिएको छ।

निर्वाचन आचारसंहिता, २०८२ को उल्लंघन भएको पाइएमा लिखित वा मौखिक रूपमा निर्वाचन कार्यालय, स्थानीय प्रशासन वा आयोगमा उजुरी दिन सकिने व्यवस्था गरिएको छ। आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि जारी गरिएका यी बुँदाहरूको पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र भयरहित वातावरण तयार गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।