लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा निर्वाचन : आजदेखि औपचारिक प्रचार–प्रसार सुरु

प्रतिनिधिसभा निर्वाचन  : आजदेखि औपचारिक प्रचार–प्रसार सुरु

काठमाडौँ ।प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आजदेखि राजनीतिक दल र उम्मेदवारहरूले औपचारिक रूपमा प्रचार–प्रसार गर्न पाउने भएका छन् । निर्वाचन कानुनमा मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचार–प्रसार गर्न पाइने व्यवस्था भएअनुसार आजदेखि उम्मेदवारहरूले मतदाताको घरदैलोमा पुगेर मत माग्न पाउने भएका हुन् ।

निर्वाचन आयोगका अनुसार आजदेखि फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्ना निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न पाउनेछन् । आयोगले निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी प्रचार–प्रसार गर्न सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

आयोगले आचारसंहिता कार्यान्वयन र अनुगमनका लागि विभिन्न संयन्त्रहरू परिचालन गरिसकेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लङ्घनका घटनामा आयोगले शून्य सहनशीलताु को नीति अवलम्बन गरेको बताउनुभएको छ । उहाँका अनुसार आचारसंहिता उल्लङ्घन गर्नेलाई स्पष्टीकरण सोध्ने, सचेत गराउने, दण्डजरिवाना गर्ने र उल्लङ्घनको गम्भीरता हेरी उम्मेदवारी नै खारेज गर्नेसम्मको कानुनी अधिकार आयोगसँग रहेको छ ।

आचारसंहिता राजनीतिक दल र सरोकारवालाहरूसँगकै व्यापक छलफलपछि तयार पारिएको र यसको पालनाका लागि सबै दलहरूले लिखित प्रतिबद्धता जनाइसकेकाले पनि आयोगले यसको कार्यान्वयनमा कडाइ गर्ने स्पष्ट पारेको छ ।

नयाँ व्यवस्थाअनुसार उम्मेदवारहरूले तोकिएको मापदण्डभित्र रहेर पत्रपत्रिकाका साथै अनलाइन सञ्चारमाध्यममा पनि विज्ञापनमार्फत प्रचार–प्रसार गर्न सक्नेछन् । यस्तै, प्रचारका क्रममा गरिने आमसभा वा कोणसभाको खर्च पारदर्शी हुनुपर्ने व्यवस्था गरिएको छ । मञ्च तयारीमा लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवार आफैँले वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने अनिवार्य व्यवस्था आयोगले गरेको छ ।

स्वच्छ र मर्यादित निर्वाचनका लागि आचारसंहिताको पालना गर्दै लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आयोगले सबै राजनीतिक दल र उम्मेदवारहरूलाई अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।