लोड हुँदैछ...

मेनु

झापा ५ मा ओलीलाई विपक्षीभन्दा आफ्नै ‘पारिवारिक सिन्डीकेट’ मुख्य तगारो

झापा ५ मा ओलीलाई विपक्षीभन्दा आफ्नै ‘पारिवारिक सिन्डीकेट’ मुख्य तगारो

विराटनगर । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ यतिबेला मुलुककै राजनीतिक ‘इपिसेन्टर’ बनेको छ। दुई–दुई पटक प्रधानमन्त्री भइसकेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन्द्र शाह ९बालेन० बीचको प्रतिस्पर्धाले यो क्षेत्रलाई विश्वभरका नेपालीको नजरमा पारेको छ। तर, बाहिरी रूपमा जति यो निर्वाचन दलहरूबीचको लडाइँ जस्तो देखिएको छ, भित्री रूपमा भने एमालेभित्रको एउटा ठूलो ‘सिन्डीकेट’ विरुद्धको विद्रोहका रूपमा विकसित भइरहेको छ।

रोचक कुरा त के छ भने, झापा ५ का मतदाताहरू केपी शर्मा ओलीसँग रिसाएका छैनन्, बरु उनलाई घेराबन्दी गरेर बस्ने कार्की र थापा परिवारको ‘जङ्गाल’ बाट आजित भएका छन्। यसपटकको चुनावमा ओलीको चुनौती विपक्षी उम्मेदवार मात्र होइनन्, बरु उनकै वरिपरि बस्ने ती केही नेताहरू हुन् जसले जनता र अध्यक्षबीच ‘फलामे पर्खाल’ खडा गरेका छन्।

विगतका चुनावमा केपी शर्मा ओली देशका विभिन्न स्थानमा चुनावी सभालाई सम्बोधन गर्न व्यस्त हुन्थे। उनी आफ्नो निर्वाचन क्षेत्रमा विरलै मात्र देखा पर्थे। धेरैजसो समय होटलमा बसेरै चुनावी अभियानको कमान्ड सम्हाल्ने ओली यसपटक भने बदलिएका छन्। उनी अहिले झापाका टोल–टोलमा पुगिरहेका छन्, मतदाताको घरदैलोमा उभिएका छन् र आम नागरिकका कुरा सुनिरहेका छन्। ओलीको यो सक्रियताले के स्पष्ट पार्छ भने, उनले आफ्नो गढभित्रको जोखिमलाई राम्ररी बुझेका छन्।

झापा ५ एमालेको सबैभन्दा बलियो संगठन भएको क्षेत्र हो। एमालेको पछिल्लो महाधिवेशनबाट यसै क्षेत्रका मात्रै १४ जना नेताहरू केन्द्रीय कमिटी र अनुशासन आयोगमा निर्वाचित भएका छन्। तर, यही उपलब्धि नै अहिले एमालेका लागि गलपासो बनेको छ। ती १४ जना नेतामध्ये पाँच जना त केवल दुईवटा परिवारका मात्रै सदस्य छन्।

यो क्षेत्रको राजनीतिलाई अहिले मुख्यमन्त्री हिक्मत कार्की र थापा दाजुभाइको परिवारले आफ्नो मुठ्ठीमा राखेको कार्यकर्ताहरूको गुनासो छ। हिक्मत कार्की एमालेका सचिव र कोशी प्रदेशका मुख्यमन्त्री हुन्। उनका दाजु दीपक कार्की केन्द्रीय सदस्य छन् भने दीपककी पत्नी एवं हिक्मतकी भाउजू लीला कट्टेल कार्की अनुशासन आयोगको सदस्य छिन्।

यता, थापा परिवारको अवस्था पनि उस्तै छ। कोशी प्रदेशसभा सदस्य रहेका होमबहादुर थापा र उनका भाइ गोविन्द थापा दुवै केन्द्रीय सदस्य छन्। अझ रोचक पक्ष त के छ भने, दमकका पूर्वमेयर रोमनाथ ओली र थापा परिवारबीच पनि गहिरो पारिवारिक सम्बन्ध छ। रोमनाथ थापा परिवारका ज्वाइँ हुन्। कार्की, थापा र रोमनाथ ओलीको यो त्रिकोणात्मक पारिवारिक जालोले झापा ५ को राजनीतिलाई ‘हाइज्याक’ गरेको स्थानीयको आरोप छ।

मतदाताहरू भन्छन्, ‘हामीलाई केपी ओली मन पर्छ, उनको काम मन पर्छ, तर उनलाई भेट्न कार्की र थापा परिवारको अनुमति लिनुपर्ने अवस्थाले हामीलाई रुष्ट बनाएको छ।’ केही दिन अगाडि एमालेका एक केन्द्रीय सदस्य झापा ५ को चुनावी अभियानमा सघाउन पुग्दा स्थानीयले भनेका थिए, ‘ओली र हाम्रो सिधा पहुँच हुन कार्की र थापाहरूले रोकेका छन्। उनीहरू आफूलाई ठेकेदार र सरदार सम्झिन्छन्।’

ती मतदाताका कुरा सुनेपछि ओलीले एउटा रणनीतिक कदम चालेका छन्। उनले ती मतदातासँग भनेका थिए, ‘अबदेखि केही काम परे कार्कीलाई फोन नगर्नु, देवेन्द्र दाहाललाई फोन गर्नु।’ ओलीले कार्कीको विकल्पमा दाहाललाई अघि सारेपछि स्थानीय कार्यकर्ताहरूले ‘दोस्रो विकल्प’ भेटिएको भन्दै खुसी व्यक्त गरेका थिए। ओलीको आधिकारिक चुनावी कमाण्डर देवेन्द्र दाहाल नै हुन्।

गौरादहका यमलाल दाहाल (गोकुल) को बुझाइमा केपी ओलीले यस क्षेत्रमा धेरै विकासका काम गरेका छन्। तर, ओलीले आफूलाई कार्की र थापाको ‘जङ्गाल’ बाट मुक्त गराउन नसके यसपटक उनलाई संकट पर्न सक्ने गोकुलको तर्क छ। यस्तै, मदन बराल पनि ओलीभन्दा स्थानीय नेताहरूसँगको असन्तुष्टिका कारण एमाले कमजोर रहेको बताउँछन्।

यस क्षेत्रका अन्य केन्द्रीय सदस्यहरू पनि ओलीका नजिकका घेराभित्रकै छन्। ओलीका लामो समय स्वकीय सचिव रहेका इन्द्रप्रसाद भण्डारी, दमककी पूर्वउपमेयर गीता अधिकारी र निर्मला पाठक शिवाकोटी पनि केन्द्रीय सदस्य छन्। गीता अधिकारीलाई दमकमा मेयर हारेपछि ओलीले योजना आयोगको सदस्य बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।