काठमाडौँ । आराध्यदेव भगवान् शिवको उत्पत्ति भएको रातको सम्झना स्वरूप मनाइने महाशिवरात्रि पर्व आज देशभरका शिवालयहरूमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदैछ। प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वमा भगवान् शिवको उपासना गर्नाले सुख, शान्ति र सद्गति प्राप्त हुने धार्मिक विश्वास रहेको छ।
धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार, पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीको मध्यरातमा शिवको रूप धारण गरेकाले यस दिनको विशेष महत्त्व छ। शिव पुराण लगायतका ग्रन्थहरूमा यस रातलाई कालरात्रि, मोहरात्रि र सुखरात्रिसँगै चार प्रमुख पवित्र रात्रिहरूमध्ये एक शिवरात्रिका रूपमा व्याख्या गरिएको छ। आज बिहानैदेखि श्रद्धालुहरू नदी, कुण्ड र तलाउमा स्नान गरी महादेवको पूजा–आराधना गर्न शिवालयहरूमा पुगेका छन्।
महाशिवरात्रिको मुख्य गन्तव्य पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको निकै ठूलो भिड लागेको छ। पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सहजताका लागि बिहान २ बजेदेखि नै मन्दिरका चार वटै ढोका खुला गरेको छ। यस वर्ष कम्तीमा आठ लाख दर्शनार्थीले पशुपतिनाथको दर्शन गर्ने अनुमान गरिएको कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीले जानकारी दिए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।