इलाम । इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङ्गेपुरमा दिदी–बहिनीबीच भएको झगडामा एक जनाको मृत्यु भएको छ ।
घरायसी विवादका क्रममा भएको भनाभनले उग्र रूप लिँदा २९ वर्षीया अञ्जली चेम्जोङ राईको ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय मंगलबारेका अनुसार शुक्रबार दिउँसो करिब १ बजे अञ्जली र उनकी काकाकी छोरी ३७ वर्षीया पुष्पा चेम्जोङ राईबीच विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको झगडा चर्किंदै जाँदा कपाल लुछालुछसमेत बताइएको छ। सो क्रममा अञ्जली बेहोस भएकी थिइन्।
अञ्जलीलाई उपचारको पहल गरिएपनि राति मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव पोस्टमार्टमका लागि धरान पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
अञ्जली र पुष्पा दुवै विवाहित हुन्। अञ्जलीको विवाह खोटाङमा भएको थियो भने पुष्पाको इलामकै माइ नगरपालिकामा विवाह भएको थियो। दुवै जना श्रीमान्सहित माइतीघरमै बस्दै आएका थिए । एउटै आँगन भएको घरमा उनीहरूको बसोबास थियो।
घटनाका बेला दुवै जनाका श्रीमान् खेतमा गएको बताइएको छ । अञ्जलीको मृत्यु भएपछि प्रहरीले पुष्पालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।