धरान । धरान खानेपानी व्यवस्थापन बोर्डले माघ महिनाको खर्च तथा मौज्दात विवरण सार्वजनिक गरेको छ।
बोर्डका अध्यक्षसमेत रहेका कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघाले पत्रकार सम्मेलन गर्दै आय–व्ययसम्बन्धी तथ्यांक सार्वजनिक गरेका हुन्।
बेघाका अनुसार माघ महिनामा विभिन्न शीर्षकमा कुल १ करोड ९९ लाख ५८ हजार ७१० रुपैयाँ खर्च भएको छ। सबै खर्च कटाइसकेपछि माघ २९ गतेसम्म बोर्डको नगद मौज्दात १ करोड ८२ लाख ११ हजार ६८२ रुपैयाँ रहेको जानकारी दिइएको छ।
व्ययतर्फ कर्मचारी तलबमा ३१ लाख ७५ हजार रुपैयाँ खर्च भएको छ भने ज्यालादार कामदारको पारिश्रमिकमा १३ लाख २४ हजार ६२३ रुपैयाँ व्यय गरिएको छ। विद्युत महशुल, पम्प सञ्चालन तथा कार्यालय खर्चमा ३६ लाख २८ हजार ८५६ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ।
पूर्वाधार तथा मर्मततर्फ खानेपानी ट्यांकी निर्माणमा सबैभन्दा बढी १ करोड ३ लाख २१ हजार ४०४ रुपैयाँ खर्च भएको छ । पम्प तथा मोटर मर्मतमा २ लाख ७९ हजार ३०७ रुपैयाँ र पाइपलाइन विस्तारमा ९ लाख ५५ हजार २०९ रुपैयाँ खर्च गरिएको छ। क्रेन तथा जेसिबी भाडामा १ लाख ७७ हजार ५०९ रुपैयाँ व्यय भएको बोर्डले जनाएको छ।
बोर्डले हाल उपलब्ध पानीको स्रोत र उत्पादन क्षमतासम्बन्धी विवरण पनि सार्वजनिक गरेको छ। अध्यक्ष बेघाका अनुसार भूमिगत स्रोततर्फ उदय सामुदायिक वन क्षेत्रबाट दैनिक १७ लाख लिटर पानी उत्पादन भइरहेको छ। चारकोसे जंगल (धरान–८ र १५) मा रहेका पम्पबाट सबैभन्दा बढी १ करोड ४० लाख लिटर पानी उत्पादन भइरहेको छ।
प्रदेश सरकारद्वारा निर्माण गरिएको धरान–८ र १५ का वेलबाट थप १५ लाख लिटर पानी उत्पादन भइरहेको जनाइएको छ। सतह स्रोततर्फ धरान–२० स्थित सर्दु र खर्दु खोलाबाट ४५ लाख लिटर, कोकाह खोलाबाट १० लाख लिटर र नयाँ ट्यांकी (रिचार्ज पोखरी) बाट ३ लाख लिटर पानी उपलब्ध भइरहेको छ।
यस्तै, धरान–४ को निसाने खोलाबाट २ लाख लिटर, धरान–१४ को भालु खोलाबाट १ लाख लिटर तथा धरान–११ को पकुवा खोलाबाट १ लाख लिटर पानी उत्पादन भइरहेको बोर्डले जनाएको छ। साथै कोकाह उपभोक्तासँगको सम्झौतामार्फत थप २ लाख लिटर पानी आपूर्ति भइरहेको बोर्डले जनाएको छ।
हाल बोर्डमार्फत दैनिक करिब २ करोड ३६ लाख लिटर पानी उपभोक्तालाई उपलब्ध गराइँदै आएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।