लोड हुँदैछ...

मेनु

जहदामा खाल्डो खनेर लुकाएको २७५ किलो गाँजा बरामद

जहदामा खाल्डो खनेर लुकाएको २७५ किलो गाँजा बरामद

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा खाल्डो खनेर परालले छोपेर लुकाइराखिएको अवस्थामा ठूलो परिमाणमा गाँजा प्रहरीले बरामद गरेको छ ।

शनिबार बिहान गरिएको खानतलासीका क्रममा २७५ किलो ८ सय ग्राम गाँजा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी हरिनन्दन चौधरीले जानकारी दिएका छन्।

गोप्य सूचनाका आधारमा जहदा–१ का अन्दाजी २८ वर्षीय चन्दनकुमार साहले गाँजा लुकाएर राखेको आशंकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो। सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीका डीएसपी तिलकबहादुर खड्का र इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले बिहान करिब ६ बजे साहको घर नजिकैको जमिनमा खाल्डो खनी माथिबाट परालको कुनिउँले छोपेर कालो प्लास्टिकमा प्याक गरिएको ९ पोका गाँजा फेला पारेको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजासहित साहलाई पनि नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा साह आफ्नै घरको कोठामा लुकेर बसेको अवस्थामा फेला परेका थिए। पक्राउ परेका साह र बरामद गरिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ।

प्रहरीले साहविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको जनाएको छ। गाँजा कहाँबाट ल्याइएको, कहाँ लैजान लागिएको र यस धन्दामा अन्य को–को संलग्न छन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

गाँजा बरामद भएको स्थान नेपाल–भारत सीमा नजिकै पर्ने भएकाले भारततर्फ तस्करी गर्ने उद्देश्यले सीमा क्षेत्र नजिक भण्डारण गरिएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।