लोड हुँदैछ...

मेनु

‘सुरक्षित चालक’ अंकित ज्याकेट र नम्बर हेरेर मात्र सफारी चढ्ने वातावरण बनाउँछौँ

‘सुरक्षित चालक’ अंकित ज्याकेट र नम्बर हेरेर मात्र सफारी चढ्ने वातावरण बनाउँछौँ

विराटनगरको सडकमा वर्षौँदेखि देखिँदै आएको सिटी सफारीको अव्यवस्थित र असुरक्षित यात्रालाई अन्त्य गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले ‘सुरक्षित चालक’ अभियानलाई तीव्रता दिएको छ । सफारी सञ्चालनलाई कानुनी, व्यवस्थित र यात्रुमैत्री बनाउने उद्देश्यका साथ यो अभियानको सुरुवात भएको हो । ‘सुरक्षित चालक’ अभियानको विषयमा जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरीक्षक सन्तोष न्यौपानेसँग हाम्रोमतले गरेको बातचितको सम्पादित अंश :

मोरङमा ‘सुरक्षित चालक’ अभियान सुरु गर्नुभएको छ, यसको आवश्यकता किन महसुस भयो र सुरुवात कसरी भयो ?
– म गत कात्तिक ३ गते मोरङ जिल्ला ट्राफिकको जिम्मेवारी सम्हाल्न आएँ। यहाँ आएर हेर्दा सवारीको अत्यधिक चाप, साँघुरा सडक, तीव्र सहरीकरण र अव्यवस्थित पार्किङ मुख्य चुनौतीका रूपमा देखेँ। अझ विशेष गरी सिटी सफारीको क्षेत्रमा धेरै समस्या देखियो। कति सफारी चल्छन् भन्ने यकिन तथ्याङ्क थिएन, चालकसँग लाइसेन्स थिएन, कहाँ पार्किङ गर्ने र कसरी चलाउने भन्नेमा अनुशासनको कमी थियो। कतिपय चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेर चलाउने गरेको पनि पाइयो। त्यसैले, यो सबै भद्रगोललाई नियन्त्रण र व्यवस्थापन गर्न ‘सुरक्षित चालक’ को अवधारणा ल्याएका हौँ।

यो अभियान अन्तर्गत सफारी चालकहरूको दर्ता प्रक्रिया र पहिचान कसरी गरिँदैछ ?
– हामीले एउटा निश्चित फारम विकास गरेका छौँ। दर्ताका लागि चालकसँग अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्र र ड्राइभिङ लाइसेन्स (चालक अनुमति पत्र) हुनुपर्छ। यी कागजात भएपछि मात्र उनीहरू हाम्रो प्रणालीमा दर्ता हुन्छन्। दर्ता भएपछि उनीहरूलाई एउटा नम्बर अंकित ‘फ्लोरिसेन्ट ज्याकेट’ उपलब्ध गराइन्छ। ज्याकेटको पछाडि लेखिएको नम्बर नै उनीहरूको पहिचान हो। यसले गर्दा भोलि यात्रुको सामान हराएमा वा केही समस्या परेमा त्यो नम्बरको आधारमा चालकलाई तुरुन्तै पत्ता लगाउन सकिन्छ।

विराटनगरमा हजारौँको सङ्ख्यामा सफारी छन्, तर दर्ता हुनेको सङ्ख्या अझै कम देखिन्छ नि ?
सुरुमा थोरै देखिए पनि अहिले यो अभियानले गति लिएको छ। अहिले दैनिक झन्डै १०० जना दर्ता हुन आउनुहुन्छ। यसको सकारात्मक प्रभाव देखिन थालिसकेको छ। पहिले महिनामा एक पटक हुने सिटी सफारीको ट्रायलमा ५०÷१०० जना मात्र हुन्थे, तर यो अभियान सुरु भएपछि गत बुधबार मात्रै ६९६ जनाले ट्रायल दिएका छन्। चाप बढेकाले अब यातायात कार्यालयले महिनाको चारै वटा बुधबार ट्रायल गर्ने व्यवस्था मिलाएको छ। यसले के देखाउँछ भने चालकहरू कानुनी दायरामा आउन उत्साहित हुनुहुन्छ।

यो अभियानमा नजोडिने वा ज्याकेट नलगाउने चालकहरूलाई कारबाही गर्ने रणनीति के छ ?
– हाम्रो मुख्य उद्देश्य कसैलाई दुःख दिने वा कारबाही गर्ने मात्र होइन, बरु यात्रुलाई सचेत गराउने हो। हामी यात्रुहरूलाई ‘सुरक्षित चालक’ लेखिएको ज्याकेट र नम्बर भएका सफारीमा मात्र चढ्न अनुरोध गर्छौँ। जब यात्रुले सुरक्षित चालक मात्र रोज्न थाल्नुहुन्छ, अरू चालकहरू पनि स्वतः प्रक्रियामा आउन बाध्य हुनुहुनेछ। लाइसेन्स नभएकाहरूलाई प्रक्रियामा जान हामीले सहजीकरण गरिरहेका छौँ। कोशी प्रदेश सरकारले सिटी सफारीको ट्रायलमा लिखित परीक्षा दिनु नपर्ने गरी नियम सहज बनाइदिएको छ, यसको फाइदा चालकहरूले लिनुपर्छ।

तपाईंहरूले एउटा एप पनि बनाउनुभएको छ, त्यसले कसरी काम गर्छ ?
– हो, हामीले एउटा डिजिटल प्रणाली (वेबसाइट एप) विकास गरेका छौँ। यसमा दर्ता भएका प्रत्येक चालकको फोटो, नाम, ठेगाना, सम्पर्क नम्बर र लाइसेन्स विवरण सुरक्षित रहन्छ। ट्राफिक प्रहरीले आफ्नो मोबाइलबाटै कुनै पनि चालकको नम्बर सर्च गर्दा दुई सेकेन्डमै उसको सबै विवरण हेर्न सक्छ। अहिलेलाई यो प्रणाली ट्राफिक प्रहरीको आन्तरिक प्रयोगका लागि मात्र छ ताकि विवरणहरूमा अनधिकृत परिवर्तन नहोस्। यो सफ्टवेयर हाम्रै आईटी इन्जिनियर साथीहरूको सहयोगमा तयार पारिएको हो।

अन्त्यमा, विराटनगरवासी र सफारी चालकहरूलाई के भन्न चाहनुहुन्छ ?
– विराटनगरवासीलाई मेरो अनुरोध छ — तपाईंको सुरक्षा हाम्रो सरोकार हो। त्यसैले यात्रा गर्दा ‘सुरक्षित चालक’ को ज्याकेट लगाएका र नियम पालना गर्ने सफारीमा मात्र चढ्नुहोस्। चालक साथीहरूलाई के भन्न चाहन्छु भने, ट्राफिक नियमको पालना गर्नु तपाईंको आफ्नै र यात्रुको जीवनको लागि हो। लाइसेन्स लिनुहोस्, मर्यादित बन्नुहोस् र यो अभियानमा जोडिएर विराटनगरको यातायातलाई सभ्य बनाउन सहयोग गर्नुहोस्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।